इटहरीः जनता बहुमुखी क्याम्पस इटहरीले ईलाइब्रेरीको शुरुवात गरेको छ । क्याम्पस प्रमुख भोजराज श्रेष्ठले उक्त लाइब्रेरीको उद्घाटन गरेका हुन् ।
लाइब्रेरी उद्घाटन गर्दै श्रेष्ठले विद्यार्थीलाई खोजमूलक शिक्षामा अभ्यस्त गराउन ईलाइब्रेरी सञ्चालनमा ल्याएको बताए । उनले पुरातन शिक्षा प्रणालीबाट छुट्कारा दिलाउन र नयाँ तथा वैज्ञानिक पद्धतिबाट अध्ययन गराउनको लागि क्याम्पस लागिपरेको जानकारी दिए । उनका अुनसार कलेजले गुणस्तर प्रमाण प्रत्यायन (क्युएए) सम्बन्धन प्राप्त गर्ने प्रक्रियामा रहेको छ । उक्त प्रक्रियाको लागि न्यूनतम आवश्यकताभित्र ईलाइब्रेरी पर्ने भएकाले क्याम्पसले ईलाइब्रेरी शुरु गरेको जनाइएको छ ।
विश्वविद्यालय अनुदान आयोग (युजिसी) ले पछि भुक्तानी गर्ने गरी हाललाई ३० वटा कम्प्युटरको व्यवस्था गरेको श्रेष्ठले जानकारी दिए । यसरी शुरु भएको प्रविधिमैत्री शिक्षा प्रणालीले विद्यार्थी र प्राध्यापक दुवै पक्षलाई फाइदा हुने पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष अर्जुन उप्रेतीको भनाइ छ । पुरातनवादी सोच भएका प्राध्यापकहरूका कारण विद्यार्थीहरू मारमा परेको र शिक्षाको गुणस्तर तल परेको अवस्थामा यो कदम राम्रो भएको उनी बताउँछन् ।