इटहरीः साताको दोस्रो दिन पनि नेप्से सूचक घटेको छ । नेप्से घटे पनि मूल्य बढ्ने कम्पनीमा भने माइक्रोफाइनान्स समूहका कम्पनी परेका छन् । मूल्य बढ्ने ५ वटा कम्पनीमा सबै माइक्रोफाइनान्स समूहका छन् र ती कम्पनीको झण्डै १० प्रतिशतदेखि ४ प्रतिशतसम्म मूल्य बढेको छ ।
सोमबार ८.१० अङकले घटेर १२१०.८८ अङ्कमा आइपुगेको छ । समग्रमा बजार ०.६६ प्रतिशतले ओरालो लागेको हो । १ सय ६२ कम्पनीको २७ करोड ७५ लाख २१ हजार ९ सय ६७ रुपैयाँको सेयर सोमबार कारोबार भएको छ । जम्मा ११ लाख ५९ हजार ७ सय ७२ कित्ता सेयर ३ हजार ७ सय ९५ पटक किनबेच भएका थिए ।
उत्पादन र माइक्रोफाइनान्समा हरियाली
बजार घटे पनि उत्पादमूलक समूह र माइक्रोफाइनान्स समूहको सूचक उकालो लागेको छ । अन्य ८ वटा समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै उत्पादनमूलक समूहको सूचक १.११ प्रतिशतले बढ्दा उत्पादनमूलक समूहको सूचक ०.८९ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै होटल समूहको सूचक २.४५ प्रतिशतले तल झर्दा सबैभन्दा कम जीवन बीमा समूहको सूचक ०.३६ प्रतिशतले तल झरेको छ ।
कारोबारमा हाथवेको संस्थापक
कारोबार रकममा हाथवे फाइनान्सको संस्थापक सेयरले अग्रता लिएको छ । सो फइनान्सको २ करोड ९८ लाख ३६ हजार ३ सय रुपैयाँको सेयर किनबेच भएको थियो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्लोबल आइएमई बैंक र एनआइसी एसिया बैंक परेका छन् । ग्लोबल आइएमइको २ करोड ७ लाख ९० हजार ९ सय ६२ रुपैयाँको र एनआइसी एशियाको १ करोड ४५ लाख ८६ हजार ५ सय २४ रुपैयाँको सेयर किनबेच भएको थियो ।
सेयर सङ्ख्यामा पनि हाथवेको संस्थापक सेयर
सोमबार सेयर सङ्ख्याको आधारमा पनि हाथवे फाइनान्सको संस्थापक सेयर नै अघि देखिएको छ । सो कम्पनीको २ लाख ९८ हजार ३ सय ६३ कित्ता सेयर किनबेच भएको थियो ।
त्यस्तै सेयर सङ्ख्याका आधारमा दोस्रो स्थानमा रहेको ग्लोबल आइएमइ बैंकको ६८ हजार १ सय ३२ कित्ता र सिर्जना फाइनान्सको संस्थापक सेयर ४७ हजार ७ सय कित्ता कारोबार भएको थियो ।
कारोबार सङ्ख्यामा आरम्भ माइक्रोफाइनान्स
कारोबार सङ्ख्यामा भने आरम्भ माइक्रोफाइनान्स अघि देखिएको छ । सो माइक्रोफाइनान्सको १ सय ८६ पटक कारोबार भएको थियो । एनआइसी एशियको १ सय ४६ पटक कारोबार हुँदा मेघा बैंकको १ सय २५ पटक कारोबार भएको थियो । कुमारी बैंकको १ सय १६ र एनएमबी बैंकको १ सय १४ पटक किनबेच हुँदा जानकी फाइनान्स र नेपाल लाइफ इन्स्योरेन्सको समान १ सय २ पटक कारोबार भएको थियो । अन्य कुनै पनि कम्पनीको कारोबार सङ्ख्या १ सय पुग्न सकेन ।
कमाउनेमा माइक्रोफाइनान्स
बजार घटे पनि माइक्रोफाइनान्सका लगानीकर्ताले सम्पत्ति कमाएका छन् । सबैभन्दा बढी सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ९.६३ प्रतिशतले कमाउँदा आरम्भ माइक्रोफाइनान्सका लगानीकर्ताले ८.८ प्रतिशतले कमाएका छन् । मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले ७.८७ प्रतिशतले कमाउँदा फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले ५.७० र स्वदेशी लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतले कमाएका छन् । नेरुडे लघुवित्तका लगानीकर्ताले ३.३३ प्रतिशतले कमाएका छन् ।
सोमबार पनि ग्रीन डेभलपमेन्टको सेयरमूल्यमा उच्च गिरावट
सोमबार पनि ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ९.५२ प्रतिशतका दरले सम्पत्ति गुमाए । सिर्जना फाइनान्सका लगानीकर्ताले ६.१४ र सिद्धार्थ इन्स्योरेन्सका लगानीकर्ताले ५.३ प्रतिशतले सम्पत्ति गुमाए । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.९२ प्रतिशतले सम्पत्ति गुमाए । बजार घटेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ४२ अर्ब कायम भएको छ ।

















