बेलबारी: करवृद्धि फिर्तालगायतका विभिन्न माग राखी नेपाली काङ्ग्रेस नगर कमिटी बेलबारीको नेतृत्वमा प्रतिपक्षी दलहरूले नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । सङ्घीय समाजवादी फोरम, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, मञ्च सम्बद्ध लिम्बुवान पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा लगायतका पार्टीहरूले संयुक्त रूपमा बेलबारी नगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन् ।

करवृद्धि, सिफारिस तथा दस्तुर, शिक्षा व्यवस्थापन कार्यविधि, स्थानीय सरकारको कार्यशैलीलगायतका विषय समेटिएका विभिन्न २९ बुँदा ज्ञापनपत्रमा रहेको बताइएको छ । ज्ञापनपत्र नगरपालिकाका प्रमुखलाई बुझाउने कार्यक्रम भए पनि नगरप्रमुख अनुपस्थित रहेकाले उपमेयर ढाकाकुमारी पराजुलीलाई ज्ञापनपत्र बुझाएर प्रतिपक्षी दल फर्किएका थिए । उपमेयर पराजुलीले ज्ञापनपत्र बुझ्दै कर लगाउँदा आफूहरूले सबैसँग सल्लाह गरेर लगाएको र सुधार्नुपर्ने ठाउँ भएमा नगरपालिका त्यसलाई सुधारेर अगाडि बढ्न तयार रहेको बताइन् । सम्पत्ति वर्गीकरण संशोधन गर, जनतामारा कर संशोधन गर, राजनीतिक भर्तीकेन्द्र बनाउने काम बन्द गर लेखिएका प्लेकार्डसहित प्रतिपक्षी दलहरू उपस्थित भएका थिए ।

ज्ञापनपत्र बुझाउनुअघि उनीहरूले नाराबाजी पनि गरेका थिए । उपमेयरलाई ज्ञापनपत्र बुझाएपछि भएको कोणसभालाई सङ्घर्ष समितिका संयोजक राजकुमार लिम्बूले सम्बोधन गरेका थिए । नेपाली काङ्ग्रेसको तर्फबाट बेलबारी नगरपालिकाका मेयरका प्रत्यासीसमेत रहेका नेता लिम्बूले नगरपालिकाले प्रतिपक्षीका मागलाई चाँडोभन्दा चाँडो सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।