भोजपुरः जिल्लाको पूर्वी अरुण गाउँपालिका वडा नं. ५ स्थित याकुलाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको छ । सो वडा क्षेत्रभित्रका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामै आएर सुरक्षित प्रसूति गराएकाले एक कार्यक्रमको आयोजना गरी वडालाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको हो ।
साविकको याकु गाविस रहेको यस वडाको सामुदायिक भवनमा आयोजित कार्यक्रमको बीच पूर्व संविधान सभाका सदस्य लोकमणि ढकालले प्रदेश नं. १ मै पहिलो पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरे । आर्थिक वर्ष २०७५÷७६ मा ६१ जना महिलाले स्वास्थ्य संस्थामा आएर सुत्केरी गराएको याकु स्वास्थ्य चौकीका इन्चार्ज हेल्थ असिष्टेन्ट भोजराज भण्डारीले बताए । त्यसमा ५ नं. वडा भित्रका मात्र ३७ जना गर्भवतीमध्ये ३६ जनाले सोही स्वास्थ्य संस्था र बाँकी १ जनाले धनकुटा अस्पतालमा गएर प्रसूति गराएका छन् ।
कार्यक्रममा अरुण गाउँपालिका प्रमुख गजेन्द्रबहादुर कार्की, उपप्रमुख बिनिता ढकाल, महिला स्वास्थ्य स्वंसेविकालगायत सरोकारवालाको उपस्थिति थियो । प्रमुख कार्कीले गाउँपालिका क्षेत्रका महिला तथा बच्चाको स्वास्थ्य सुरक्षाको लागि आफूले विशेष योजना बनाएर काम गर्ने बताए । गाउँपालिकाले आफ्नो क्षेत्रमा सुत्केरीलाई कुखुराको भाले, चामल, ज्वानो, केही रकमसहितको प्याकेज पनि दिँदै आएको छ ।
दक्ष जनशक्ति, भौतिक सुविधालगायतका उपचारका लागि चाहिने सामग्रीको पर्याप्ततालगायतका कारण विगत १० वर्ष बढी समयदेखि भोजपुरको याकुस्थित स्वास्थ्य संस्था जिल्लामै नमूना स्वास्थ्य संस्थाको रूपमा परिचित छ । यसले पटकपटक जनताको स्वास्थ्य उपचारमा राम्रो काम गरेको भन्दै पुरस्कारसमेत पाएको छ ।
आफ्नो वार्ड बाहेक पौवादुङ्मा गाउँपालिका १ र ३ नं. वार्डबाट पनि उपचार सेवा लिन बिरामीहरु आउने गरेको स्वास्थ्य संस्थाले जनाएको छ । स्वास्थ्य संस्थामा दरबन्दी अनुसारको जनशक्ति, विशेष प्रसूति तालीम लिएका २ जना स्वास्थ्यकर्मी, गर्भवतीको विशेष जाँचको लागि भिडियो एक्सरे मेसिन, बच्चा जन्मिएपछि तातोमा राख्ने मेसिन, अक्सिजन लगायतका साधन पर्याप्त भएकाले पनि सेवाग्राहीको आकर्षण बढेको स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष ध्यानबहादुर राई बताउँछन् ।