धरानः नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको ४० औं स्थापना दिवसको अवसरमा सोमबार देशभर रक्तदान कार्यक्रम भएको छ ।
देशभर १ हजार १२ पिन्ट रगत सङ्कलन भएको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै १ नम्बर प्रदेश कमिटीले ३ सय ४४ पिन्ट रगत सङ्कलन गरेको छ ।
१ नम्बर प्रदेशमा धरान, विराटनगर, चारआली, दमक, बिर्तामोड, इटहरी, त्रियुगामा रक्तदान भएको थियो ।
धरानमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका पूर्व केन्द्रीय अध्यक्ष तथा औजार प्रकाशन सहकारी संस्थाका अध्यक्ष मोतीराज सुनुवारले मुलुक निर्माणमा मजदुरहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।
धरानको भानुचोकमा धरान नगर कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सुनुवारले नेपाललाई समृद्ध बनाउने सरकारको योजनालाई यातायात मजदुरहरूले अहम भूमिका निर्वाह गरेको बताएका छन् । उनले यातायात मजदुरहरूको सङ्गठन नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत सङ्गठन निर्माण गर्न सफल भएको बताए ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा धरानमा ९० पिन्ट रगत सङ्कलन भएको धरान अध्यक्ष कमल भट्टराईले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा प्रदेश सदस्य विजय राईले सङ्गठन निर्माणपश्चात् यातायात मजदुरहरूको व्यवहार, बोलीमा परिवर्तन भएको भन्दै समाजले हेर्ने दृष्टिकोणसमेत सकारात्मक भएको बताए ।
कार्यक्रममा नेकपा नेता चोत्लुङ, पदम इस्बोलगायतले बोलेका थिए । धरान अध्यक्ष कमल भट्टराईले यातायात मजदुरलाई रगत बढी आवश्यकता पर्ने भएकाले बेलाबेलामा रक्तदान कार्यक्रम गरिरहने बताएका थिए । उनले दुर्घटना हुँदा घाइते हुनेहरूलाई समेत रगतको अभाव हुने गरेको भन्दै त्यसलाई पूर्ति गर्नका लागि पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।