बेलबारीः बेलबारी नगरपालिकामा ३ वटा स्वास्थ्य चौकी निर्माण कार्य एकै पटक शुरु गरिएको छ ।

वडा नम्बर ४, ८ र ११ मा ती स्वास्थ्य चौकी निर्माण गर्न थालिएको हो । ल्याबसहितको स्वास्थ्य चौकी निर्माण गर्न थालिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । शनिबार ८ नम्बर वडाको स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । अन्य वडामा समेत निर्र्माणको काम थालिएको नगरपालिकाले जनाएको छ ।

ती स्वास्थ्य चौकीमा प्रत्येक भवनमा ल्याब, शौचालय, बिरामीले आराम गर्ने कक्षसहति ५ कोठा रहने बताइएको छ । स्वास्थ्यको पहुँच नपुगेका वडामा सेवा दिने उद्देश्यले स्वास्थ्य चौकी निर्माण गर्न थालिएको मेयर सुवेदीले बताए । उनले उपचार नपाई कोही पनि नगरवासी रोगले पीडित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने बताए । बेलबारीमा एक प्राथमिक स्वास्थ्य केन्द्र, ३ स्वास्थ्य चौकी र २ वटा शहरी स्वास्थ्य केन्द्र रहेका छन् ।