ताप्लेजुङः ताप्लेजुङका निजी स्वास्थ्य संस्थालाई लागूऔषधका रूपमा प्रयोग हुने प्रकारका औषधी जथाभावी रूपमा बिक्री नगर्न जिल्ला अनुगमन समितिले सुझाव दिएको छ ।
पछिल्लो समयमा नार्कोटिक लगायतका औषधीलाई युवाले लागूऔषधका रूपमा प्रयोग गर्ने गरेको पाइएकाले यसको नियन्त्रणका लागि औषधी बिक्रीलाई व्यवस्थित गर्न समितिले सुझाएको हो । शनिबार सदरमुकामका निजी अस्पताल तथा क्लिनिकमा अनुगमन गर्दै समितिले डाक्टरको प्रेस्क्रिप्सन लिएर आएका बिरामी बाहेकलाई औषधी नबेच्न भनेको छ । एन्जाइटिक लगायतका समस्या हुँदा प्रयोग गरिने सो औषधी लागूऔषधको रूपमा प्रयोग हुने गरेको पाइएको समितिले जनाएको छ ।
अनुगमनकै क्रममा औषधीलाई स्टोर गरेर राख्न, म्याद नाघेका औषधीलाई छुट्टै राख्न समेत सुझाव दिएको अनुगमन समितिका सदस्य तथा जिल्ला अस्पताल ताप्लेजुङका डाक्टर सोनिङ लामाले बताए ।