काठमाडौंः महिला र बालबालिकासम्बन्धी कानुनको जानकारी दिने उद्देश्यले महिला आधारशिलाले कानुनी सन्देश नामक पुस्तक प्रकाशित गरेको छ ।
राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले पुस्तकको शुक्रबार विमोचन गरिन् । कार्यक्रममा बोल्दै दाहालले संस्थाले हिंसापीडित महिला र बालबालिकाका लागि गरेको कामको प्रशंसा गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताइन् ।
कार्यक्रममा भदौ १ गतेदेखि लागू भएको फौजदारी र देवानी संहितामा भएको महिला तथा बालबालिका विषयका कानुनी व्यवस्थाबारे कार्यपत्र पनि प्रस्तुत भएकोे थियो ।
कार्यक्रममा मानवअधिकारकर्मीहरू चरण प्रसाईं, भवानीप्रसाद खरेल, महिला सुरक्षा दबाब समूहकी अध्यक्ष साबित्री थापाका साथै उपत्यकाका विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुखको उपस्थिति थियो ।
संस्थाकी अध्यक्ष रेणु शर्माले झण्डै २५ वर्षसम्म संस्थाले सयौं पीडित महिला र उनीहरूका बालबालिकाका लागि शिक्षा, स्वास्थ्यका साथै हिंसापीडित महिलालाई आर्थिक सशक्तिकरणको क्षेत्रमा सहयोग गरिरहेको बताइन् ।
उनका अनुसार संस्थाको आश्रयमा बस्ने महिलाहरूको आर्थिक सशक्तिकरण र संस्था सञ्चालनका लागि संस्था आफैंले उद्योग सञ्चालन गरेको छ । उद्योगमार्फत उत्पादित ढाकाका सामग्रीहरू विभिन्न देशमा पनि बिक्रीका लागि पठाउने गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा संस्थाकी महासचिव कमला उपे्रतीले संस्थाले हिंसापीडित महिला र उनीहरूका छोराछोरीका लागि गरिरहेको कामको बारेमा बताएकी थिइन् ।

















