धरानः धरान–१६ स्थित शारदा बालिका नमूना माविमा शुक्रबार एक दिवसीय जिल्लास्तरीय रेडक्रस अभियान अभिमुखीकरण तालीम सम्पन्न भएको छ ।
विद्यालयमा रहेको युवा रेडक्रस सर्कलको आयोजनामा भएको अभिमुखीकरणमा नेपाल रेडक्रस सोसाइटी सुनसरीको युवा रेडक्रस उपसमितिका उपसंयोजक लक्ष्मीनारायण डाँगी प्रमुख अतिथि थिए । कार्यक्रममा विद्यालयका युवा रेडक्रस सर्कलका संरक्षक एवम् प्रधानाध्यापक मेघराज भट्टराईले मन्तव्य राखेका थिए ।
शिक्षक पदमप्रसाद लुइँटेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमका सहजकर्ता नेपाल रेडक्रस सोसाइटी सुनसरी अन्तर्गत रेस २ कार्यक्रमका प्रमुख शिवराम खड्का र नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखा जिल्ला कार्यक्रम अधिकृत मोहनकुमार भट्टराई रहेका थिए ।
कार्यक्रममा धरान र इटहरीका २१ ओटा विद्यालयका ५० जना विद्यार्थी सहभागी भएको युवा रेडक्रस सर्कल शारदा बालिका विद्यालयका शिक्षक नायक इश्वर अर्यालले जानकारी दिए ।
विद्यार्थीले प्रत्येक शुक्रबार आयोजना गर्ने अतिरिक्त क्रियाकलापअन्तर्गत न्याय ओझेलमा र पुनर्जीवन गरी २ ओटा नाटक पनि मञ्चन गरेका थिए ।