उर्लाबारीः पथरीशनिश्चरे साझेदारी वन व्यवस्थापन समूहले विपन्न जेहेन्दार विद्यार्थीलाई साइकल वितरण गरेको छ ।
शुक्रबार मोरङको उर्लाबारी–३ स्थित सब वन डिभिजन कार्यालयमा आयोजित कार्यक्रममा मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले सामुदायिक विद्यालयका विद्यार्थीलाई साइकल वितरण गरेका हुन् ।
पूर्वी मोरङका गाउँपालिका तथा नगरपालिकाका ३२ जना विद्यार्थीलाई साइकल वितरण गरिएको समूहका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । कार्यक्रममा प्रदेश सांसद लिम्बूले गरीब तथा विपन्न समुदायका जेहेन्दार विद्यार्थीलाई साझेदारी वनले साइकल वितरण गरेर उदाहरणीय कार्यको सुरुवात गरेको भन्दै आगामी वर्षमा अझै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम प्राथमिकताका साथ अघि बढाउन अनुरोध गरे ।
कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष गञ्जबहादुर कार्की, नेकपाका स्थानीय नेता गंगा बास्तोलालगायतले बोलेका थिए । कार्यक्रममा बोल्दै विद्यार्थी योगेन्द्र न्यौपानेले विद्यालय जान साइकल सहयोगी बन्ने बताए । साइकल पाएपछि दङ्ग हुँदै उनले भने, ‘टाढाबाट हिँडेर विद्यालय जानुपर्ने बाध्यता हटेको छ ।’
कार्यक्रमको सञ्चालन समूहका सदस्य प्रमोद निरौलाले गरेका थिए । समूहका अध्यक्ष प्रकाश पौडेलको सभापतित्वमा कार्यक्रम भएको थियो ।