झापाः नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मेचीनगर समितिले आफ्नो ४० औँ स्थापना दिवसको अवसरमा शनिबार नगर सरसफाइ तथा डस्बिन वितरण कार्यक्रम गरेको छ ।
समितिले मेचीनगरको प्रमुख व्यापारिक केन्द्र काँकरभिट्टासहित भन्सार, इलाका प्रहरी कार्यालय, राजमार्ग नेपाल बैंकलगायतका स्थानमा सरसफाइ गरेको थियो । नेपाल–भारत सीमा मेची पुल र दुवैतर्फको डाँडाको झारपात उखेलेको थियो । समितिले काँकरभिट्टा क्षेत्रमा विभिन्न व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई आआफ्नो घर तथा व्यवसायबाट उत्पादन हुने फोहोरको उचित व्यवस्थापन गर्दै निश्चित ठाउँमा फ्याँक्न आग्रह गरेको थियो । यसका लागि समितिले काँकरभिट्टा बजारका विभिन्न ५ ठाउँमा डस्बिन राखेको छ ।
मजदुरको अभियानमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरक्षिक शंकर रेग्मी नेतृत्वमा नेपाल प्रहरी, अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक कालीदास रेग्मी, मेची सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बुद्घिनाथ पौडेल, सचिव लोकबहादुर कार्कीलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले साथ दिएका थिए । सहभागीले मेचीनगरलाई स्वच्छ सफा र हराभरा नगर बनाउन नगरका विभिन्न ठाउँमा वृक्षरोपण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
सङ्गठनले नगर समितिको कार्यालयबाट शुरु गरेको सरसफाइ अभियानअन्तर्गत नगर अध्यक्ष खडानन्द भण्डारीले सङ्गठनले अहिलेसम्म मजदुरका हक, हित अधिकार र सामाजिक जिम्मेवारप्रति खेलेको भूमिकाका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन सङ्गठनका नगर सचिव दुर्गा खड्काले गरेका थिए ।