धरानः पाँचौँ अन्तर्राष्ट्रिय योग दिवस धरानमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको अवसरमा पतञ्जली योग समिति तथा महिला पतञ्जली योग समितिले धरान–३ स्थित आफ्नै भवनमा शुक्रबार योग शिविरको आयोजना गरेका थिए ।
‘योग गरौँ निरोगी रहौँ’ भन्ने नारालाई घर घरमा पुर्याउने लक्ष्यका साथ पाँचौँ अन्तराष्ट्रिय योग दिवस मनाइएको हो । योग शिविरमा योग समिति प्रदेश नं. २ का सङ्गठन मन्त्री बद्री राजभण्डारीले योग प्रशिक्षण दिएका थिए । प्रदेश नं. १ का संयोजक तुलसीप्रसाद श्रेष्ठले कार्यक्रमको संयोजन गरेका थिए ।
दिवसको अवसरमा बिहान प्रभातफेरिको आयोजना गरिएको थियो । साँझ भानुचोकमा दीप प्रज्वलन गर्ने र भोलि विष्णुपादुकामा आँखा तथा योग शिविरको समेत आयोजना गरिएको महिला पतञ्जली योग समिति धरानकी अध्यक्ष चन्द्रा हलुवाईले बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि सांसद सावित्री जोशीले योगले मानिसलाई स्वस्थ बनाउनुका साथै समाजलाई मर्यादित र सुसंस्कृत बनाउनमा समेत सहयोग पु¥याउदै आएको विचार व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि धरान उपमहानगरपालिकाकी कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारीले धरानमा पतञ्जली योग समितिले गरेका कामले नगर विकासमा पनि सहयोग पुगेको बताइन् ।
स्थानीय सरकार र स्वास्थ्य तथा सामजिक विकासका क्षेत्रमा कार्यरत सङ्घ संस्थाले पनि योगलाई प्राथमिकता दिनुपर्ने पतञ्जली योग समति धरानका अध्यक्ष सुमन स्थापितले बताए । पाँचौ अन्तराष्ट्रिय योग दिवशलाई भव्यताका साथ मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । उक्त समितिले मिडियामा प्राथमिकताका साथ योग सम्बन्धी लेख, रचना, सुचना र समाचारलाई प्रथमिकता दिई प्रसारण गर्न अनुरोध गरेको पतञ्जली योग समिति धरानकी सहसचिव शान्ता दाहालले बताइन् ।
शिविरमा विभिन्न योग समितिका पदाधिकारी र योग साधकहरूको बाक्लो सहभागिता रहेको थियो ।