बेलबारीः बेलबारी बहुमुखी क्याम्पसको भवनको शिलान्यास गरिएको छ । एक कार्यक्रमका बीच मेयर ज्ञानेन्द्र सुवेदीले भवनको शिलान्यास गरेका हुन् ।
भवन शिलान्यास गर्दै मेयर सुवेदीले राजमार्गसँगै जोडिएको क्याम्पस बेलबारी बहुमुखी मात्रै भएको बताए । ‘पूर्वपश्चिम राजमार्गदेखि २ सय मिटर भित्र पस्दा कुनै पनि क्याम्पस छैनन्’, मेयर सुवेदीले भने, ‘अन्यत्र सबै सुविधा भएको ठाउँमा क्याम्पस छैनन् ।’
नगरपालिकाको १ करोड, स्थानीय तह पूर्वाधार साझेदार कार्यक्रमको ५० लाख तथा क्याम्पसको ४० लाख बजेटमा उक्त भवन बन्न लागेको हो । ‘पहिलो तलामा १६ कोठाको भवन निर्माण गर्न लागिएको छ’, क्याम्पस प्रमुख खगेन्द्र लुइँटेलले भने, ‘बहुवर्षे योजनामा भवन बनाउन लागेका हौँ ।’
क्याम्पस हाल भाडाको जग्गामा रहेको छ । ३ सय ११ जना विद्यार्थी अध्ययनरत सो क्याम्पसमा मानविकी, व्यवस्थापन र शिक्षाशास्त्रको पढाइ हुने गरेको छ ।
भवन बनाउने जिम्मा ढुकुचु र चौधरी जेभी कन्ट्रक्सनले जिम्मा पाएका छन् । क्याम्पस सञ्चालन भएको लामो समयसम्म बन्न नसकेको भवन जनप्रतिनिधिले चासो देखाएपछि बन्न थालेको हो ।