बेलबारीः मोरङको सुन्दरहरैंचा–११ मा रहेको महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीमा मास हिस्टेरिया भएको पुष्टि भएको छ ।
लगातार केही दिनदेखि विद्यार्थी बिरामी परेपछि विद्यालयले स्वास्थ्यकर्मीको टोली बोलाएर स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा मास हिस्टेरिया भएको पाइएकोे विद्यालय प्रशासनले जानकारी दिएको छ । सोमबार समेत विद्यार्थी एक्कासी बेहोश भएपछि स्वास्थ्यकर्मीको टोली बोलाएर विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको प्रधानाध्यापक सुनिलकुमार झाले बताए ।
विद्यार्थीमा मास हिस्टेरिया भएको पुष्टि भएको सुन्दरहरैंचा नगरपालिकाका स्वास्थ्य संयोजक उदेश श्रेष्ठले बताए । अहिलेसम्म सो विद्यालयमा ९ जना विद्यार्थी बेहोश भइसकेका छन् ।
विद्यालय प्रशासनले भने गर्मीका कारणले विद्यार्थी बेहोश भएको जनाउँदै आएको थियो । एक विद्यार्थी बेहोश भएपछि अन्य विद्यार्थीमा डरत्रास भएकाले अन्य विद्यार्थी बेहोश भएको स्वास्थ्यकर्मीको भनाइ रहेको छ । विद्यालय प्रशासनका अनुसार प्रतीक्षा बिक, अनिसा बिक, अनिषा रिजाल, अस्मिता सार्की, एलिसा बिक, विन्दा भुजेल, पूजा बिक, प्रिन्सा राई र करुणा चौधरी बेहोश भएका थिए ।