इटहरीः सहकारी व्यवस्थापन, नेतृत्व विकास प्रशिक्षण तथा अध्ययन भ्रमणका लागि अमेरिकामा अनुभव बटुलेका इटहरी उपमहानगरपालिका वडा नं. २० का अध्यक्ष मणिराम श्रेष्ठले अमेरिका भ्रमणको अनुभव सुनाएका छन् ।

तरहरा बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य श्रेष्ठले सो सहकारी संस्थाले आयोजना गरेको सहकारी अध्ययन भ्रमण अनुभव आदानप्रदान कार्यक्रममा आफ्नो अनुभव संस्थाका शेयर सदस्य तथा सर्वसाधारणलाई सुनाएका थिए ।

श्रेष्ठका अनुसार, सहकारीले हरेक क्षेत्रमा सहकार्य गरेर सरकारी कानुन तथा नीति अनुसार विभिन्न अवधारणामा काम गर्न सक्ने बताए । कार्य समिति सदस्य नवीन गुरूङले आफ्नो सहकारी संस्था आर्थिक शक्ति निर्माणका लागि स्थापना भएको र सोही लक्ष्य अनुरुप हिँडेको बताए ।

संस्थाका अध्यक्ष नगेशचन्द्र राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार दिनेशचन्द्र गिरी, हाँसपोसा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष महेन्द्र गिरी तथा तारकेश्वोर शिवालय मन्दिरका अध्यक्ष शारदा कट्वालले मन्तव्य राखेका थिए ।

कार्यक्रममा गायक रोशन बान्तवा राईले साङ्गीतिक प्रस्तुति दिएका थिए । लक्की ड्र मार्फत संस्थाका शेयर सदस्य शान्ति आङदेम्बेले नगद २ हजार रुपैयाँ पाइन् । कार्यक्रममा नयाँ शेयर सदस्यलाई खादा ओढाएर स्वागत सम्मान गरिएको थियो ।