झापाः झापाको मेचीनगरमा थप २ जनामा डेङ्गु सङ्क्रमण फेला परेको छ । यसअघि नगरमा २ जना डेङ्गुका रोगी फेला परेका थिए । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा संयोजक शशीकला राईका अनुसार मेचीनगरको वडा नम्बर १ पाटापुर र वडा नम्बर १० को पशु बजारमा एक÷एक जना डेङ्गुका रोगी फेला परेका हुन् ।
यसअघि मेचीनगर—९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा आमा छोरामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । यो सँगै झापा जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या १४ जना पुगेको छ ।
स्वास्थ्यकर्मीका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बिरामीमा मनोवैज्ञानिक असर पर्ने भएकाले स्वास्थ्यकर्मीले सङ्क्रमितको नाम र थर भने बताउन चाहेका छैनन् ।
सङ्क्रमितको घरमा पुगेर नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनीहरूका परिवारसँग समेत छलफल गरेको छ । अस्पतालमा पुगेर उनीहरूको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिएको छ ।