इटहरीः कोशी गाउँपालिकाको कोशी कटानबाट लागु औषध खैरो हेरोइन (ब्राउन सुगर) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ ५ बजे कोशी कटानस्थित निर्माणाधीन रिफ्रेसमेन्ट सेन्टरमा रहेको संयुक्त चेक पोइन्टबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा.११ च ४३४६ नम्बरको कारमा सवार रहेका उनीहरूमाथि शङ्का लागी चेकजाँच गर्दा ११ दशमलव ३ ग्राम खैरो हेरोइन फेला परेको थियो ।
कारको बायाँतर्फको पछाडि तेल हाल्ने ठाउँको ढकनभित्र कालो प्लाष्टिकमा लुकाइराखेको अवस्थामा सो लागू औषध फेला परेको प्रहरीले जनाएको छ । लागू औषधसहित धरान–१५ महादेव चोकका ३० वर्षीय सुजन राई पक्राउ परेका हुन् । त्यस्तै, धरान– १५ प्रतिभा मार्गका ३४ वर्षीय श्याम रसाइली, धरान–१५ ज्ञानचक्षु मार्ग बस्ने २९ वर्षीय कार चालक खगेन्द्र श्रेष्ठ र धरान– ९ गौतम पथ बस्ने ३० वर्षीय प्रवीण तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















