विराटनगरः मोरङ व्यापार सङ्घको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । मतपरिणाम अनुसार नेपालकै पुरानो उद्योगी व्यापारीहरूको सो सङ्गठनमा वर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडको प्यानल विजयी भएको छ ।
मतपरिणामअनुसार उद्योगतर्फ अनिल सारडा २ सय १४ मत ल्याई विजयी भएका छन् । त्यस्तै, अनुपम राठी र प्रकाश मुन्दडाले समान २ सय १३ मत, अमित सारडा र दिपेश सुवेदीले समान २ सय १२ मत, पवन राठी र सुनिल टिबडेवालले समान २ सय १० मत र आशिष जाजूले २ सय ३ मत प्राप्त गरेका छन् ।
८ जनाको लागि ११ जनाको उम्मेदवारी परेकोमा मेघराज सिग्देलले १७, धीरजराज पोखरेल १० र सुकुमार सेनले ६ मत मात्रै ल्याए ।
वाणिज्य क्षेत्रतर्फ मनिषकुमार मारुले सर्वाधिक २ सय ७९ मत ल्याएर विजयी भए । विकास कुमार बेगवानी, नवीन रिजाल, बिनित सिङ्घानिया, अनिलकुमार साह, देवाशिष गोल्छा, राजेशकुमार अग्रवाल र सुशील सुराना विजयी भएका छन् । सुनिल बिरला र अरबिन्द शर्मा पराजित भएका छन् ।
वस्तुगत क्षेत्रतर्फ भने सन्तनु रेग्मी र सञ्जयकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै, शाखा तर्फबाट कोशीहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाई निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचित १९ जनाको सो कार्यसमितिको पहिलो बैठकले अध्यक्षलगायतका पदाधिकारीको जिम्मेवारी बाँडफाँड गर्ने छ । त्यसपछि अध्यक्षले २ जना सदस्य मनोनित गरी समितिलाई पूर्णता दिनेछन् । वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाको प्यानलले जितेकाले अध्यक्ष भने उनी नै हुने लगभग निश्चित भएको उद्योगी व्यवसायी बताउँछन् ।