इटहरीः पाथीभरा जब लिंक प्रालि इटहरी र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडबीच इन्स्योरेन्सको १ नम्बर प्रदेश कार्यालय इटहरीमा बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा जब लिंकका प्रबन्ध निर्देशक पवन अधिकारी र इन्स्योरेन्सका १ नम्बर प्रदेश प्रमुख पुष्कर भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार जब लिंकमार्फत् रोजगारीका लागि जाने व्यक्तिको ५ लाख बराबरको दुर्घटना बीमाको पहिलो वर्षको प्रिमियम जब लिंकले तिरिदिनेछ । अन्य वर्षमा भने बीमित स्वयम्ले तिर्नुपर्ने बताइएको छ ।

सम्झौतापश्चात आयोजित कार्यक्रममा बोल्दै जब लिंक प्रालिका अधिकारीले सबैको पहुँचमा बीमा कार्यक्रम पुग्न नसकेका कारण धेरै असुुरक्षित भएर काम गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । जब लिंकको यो कदमपछि बीमाको महत्व झनै बढ्दै जाने उनको भनाइ थियो ।

कार्यक्रममा इन्स्योरेन्सका प्रदेश प्रमुख भट्टराईले जब लिंकसँग मिलेर काम गर्न पाउँदा निकै उत्साहित भएको बताए । उनले १ नम्बर प्रदेशमै पहिलो पल्ट शुरु गरिएको यस कार्यक्रमले धेरै जनालाई फाइदा पुग्नेमा जोड दिए । इन्स्यारेन्सका विराटनगर शाखाका प्रबन्ध सुरेश भट्टराई एवम् इटहरी शाखाका प्रबन्धक जगत फुयालले बीमाको महत्वका बारेमा प्रष्ट्याएका थिए ।