विराटनगरःविराटनगरको रङ्गेली रोडमा रहेको मेरील्याण्ड कलेजबाट गत वर्ष बीबीएस पहिलो वर्षको परीक्षामा सो कलेजकी सिम्रन अग्रवाल प्रदेश टपर भएकी छिन् । देशभरमा उनले सातौँ स्थान सुरक्षित गरेकी छिन् । व्यवस्थापनतर्फ ७७ प्रतिशत अर्थात् ३ सय ८५ अङ्क ल्याएकी सिम्रन अतिरिक्त क्रियाकलापमा पनि राम्रो दख्खल राख्छिन् । रङ्गेली स्थायी घर भएकी उनीसँग हेमराज दाहालद्वारा गरिएको संवादः

परीक्षामा प्रदेश प्रथम हुँदा कस्तो महसुस भइरहेको छ ?
अत्यन्तै खुशी लागिरहेको छ । कर्मको फल पाएको छु जस्तो महसुस गरिरहेकी छु । तर मलाई यो धेरै नै ठूलो सफलता हो भन्ने चाहिँ लाग्दैन । मभन्दा पनि उच्च अङ्क र स्थान ल्याउने साथी हुनुहुन्छ । म उहाँहरूबाट थप केही सिक्न चाहन्छु ।

पढाइमा मेधावी बन्न कसरी सम्भव भयो ?
मभित्रको उत्प्रेरणाले नै सम्भव भएको हो । मलाई सानैदेखि केही पर्नुपर्छ भन्ने भावना थियो । विद्यालय तहमा पनि मेरो पढाइ राम्रो थियो । अभिभावकको साथ सहयोग साथै कलेजको पढाउने वातावरणले गर्दा नै म यहाँ छु जस्तो लाग्छ । जो कोही पनि सफल हुन त मिहिनेत त अवश्य गर्नुपर्छ नि । हुन त योभन्दा पनि धेरै अरु मिहिनेत गर्नु छ मैले ।


तपाईँको पढ्ने तरिका अलि भिन्न छ हो ?
खासै छजस्तो त लाग्दैन तर कक्षाकोठामा सरहरूले पढाउँदा नै नबुझेको कुरा सोध्ने बानी छ । पढाउने शैली भिन्न छन् । हामी आफँैले खोजेर पढ्ने अनि ग्रुपमा बसेर छलफल गर्ने गर्दछौँ । कक्षाकोठामा प्रोजेक्टरबाट पढ्दछौ । पेपर प्रिजेन्टेसनहरूमा भाग लिन्छु । अर्को कुरा पढेको विषयलाई धेरै पटक लेखेर अभ्यास गर्ने गर्दछु ।

अनि तपाईंको उद्देश्य चाहिँ के हो ?
मेरो त्यस्तो ठूलो सपना केही छैन । म भविष्यमा आफ्नै गाउँमा जान्छु । त्यहीँको विद्यालयमा पढाउने शोख छ । रङ्गेलीमा भनेजस्ता कलेज छैनन् । बालबालिकाले राम्रो शिक्षा पाइरहेका छैनन् । गाउँको शैक्षिक अवस्था कमजोर छ । मेरो उद्देश्य शिक्षक बन्ने छ । म छुट्टीको समयमा स्वयम्सेवकको रूपमा त्यहीँको विद्यालयमा पढाउने गर्दै आएकी पनि छु ।

विद्यालयको पढाइपश्चात् यति धेरै कलेज मध्ये यही कलेज तपाईंको रोजाइमा पर्नुका केही खास कारण छन् कि ?
अवश्य छन् । विराटनगरमा पढ्ने भनेपछि मेरील्याण्ड कलेजको नाम सबैको मुखमा झुण्डिएको छ । चाहेर होस् वा नचाहेर एक पटक यो कलेजमा ठोक्किने गर्दछन् । मलाई लाग्छ यो लोकप्रियता कलेजले गरेको मिहिनेत नै हो । यहाँको भौतिक सुविधा, अनुभवी शिक्षकको समूह, प्रशस्त अभ्यासका लागि लिने आन्तरिक परीक्षा आदि कुराले मलाई विशेष आकर्षण गरेको हो ।

प्रायजसो पढाइमा उत्कृष्ट हुने विद्यार्थी विदेशी भूमिमा आफ्नो श्रम र पसिना बगाउन जाने गर्दछन् तपाईले चाहिँ यसबारेमा केही सोच्नुभएको छ कि छैन ?
म नेपालमै बसेर यहीँको माटोमा अन्न फलाउने सोचमा छु । म अरु भाइबहिनीलाई पनि सकेसम्म यहीँ बस्ने सल्लाह दिन्छु ।

आफ्नो कलेजलाई दिनुपर्ने केही सुझाव छन् ?
सुझाव नै दिनुपर्ने त त्यस्तो केही छैन । तर अलि अन्तर्मुखी स्वभाव भएका साथीहरूलाई व्यक्तिगत परामर्श प्रिन्सिपल सर स्वयम्ले गर्दा झनै राम्रो हुन्छ कि जस्तो लाग्छ ।