इटहरीः इटहरी– २ स्थित पशुपति इङ्लिस बोर्डिङ स्कुलले विश्व वातावरण दिवसको अवसर पारी सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
दिवसको अवसर पारी विद्यालयले सरसफाइ तथा फूल रोप्ने कार्यक्रम आयोजना गरेको हो । विद्यार्थी तथा शिक्षकले हलगडा, हवाइचोक, पशुपति चोक, तिनजुरे चोक र आसपासको क्षेत्रमा सरसफाइ गरेको विद्यालयका प्रिन्सिपल सुमित थापाले बताए ।
त्यससँगै २० वटा गमलामा फूल रोपिएको उनले जानकारी दिए । सोही कार्यक्रममा विद्यार्थीले वातावरणसम्बन्धी प्लेकार्ड प्रदर्शन गरेका थिए । विद्यालयले हरेक वर्ष वातावरण दिवसमा वृक्षरोपण लगायत सरसफाइ कार्यक्रम आयोजना गर्ने गरेको जनाएको छ ।