उर्लाबारीः प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आगामी आर्थिक वर्षबाट प्रदेशका ५६ निर्वाचन क्षेत्रका १ सय १२ वटा सामुदायिक विद्यालयमा झोला र किताब विस्थापित गर्ने गरी आईटी शिक्षा सञ्चालन गर्ने तयारी गरिरहेको बताएका छन् ।
मोरङको मिक्लाजुङ–३ स्थित कालिका सामुदायिक माध्यमिक विद्यालयको ४० औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । विद्यालय र कक्षाकोठा आईटीमैत्री हुनुपर्नेमा जोड दिँदै उनले आधुनिक प्रविधिअनुसार शिक्षा सञ्चालन हुनुपर्नेमा जोड दिए । प्राविधिक शिक्षाको माध्यमबाट नै देशलाई समृद्ध बनाउन सकिने उनको भनाइ छ । उनले अहिलेको समयमा प्राविधिक शिक्षा अनिवार्य आवश्यकता भएको बताए ।
नेपालमा अब राजनीतिक अधिकार प्राप्त भइसकेकाले समृद्ध नेपाल निर्माण गर्ने प्रमुख आधार नै शिक्षा र चेतना रहेको मन्त्री घिमिरेले बताए । शिक्षा व्यवसायिक हुन आवश्यक रहेको बताउँदै मन्त्री घिमिरेले अबको शिक्षा रोजगारीमूलक हुनुपर्नेमा जोड दिए । त्यस्तै, मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद् कुलप्रसाद साम्बा (कुशल)ले विद्यालयको प्राविधिक शिक्षा र अङ्ग्रेजी माध्यमको पठनपाठनमा सहयोग गर्ने उद्घोष गरे ।
आफू अध्ययन गरेको विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले रोजगारमूलक शिक्षा नै अबको आवश्यकता रहेको उल्लेख गरे । कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रपाद आचार्यलगायतले बोलेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मातृकाप्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नुका साथै विद्यालयका समस्याका विषयमा अवगत गराएका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार लिम्बूको सभापतित्वमा भएको थियो ।