बेलबारीः शैक्षिक सत्रको शुरुमै अघिल्ला वर्षको परीक्षाको रिजल्टका आधारमा बेलबारी नगरपालिकाले पठनपाठन सुधारका लागि कार्यक्रम थालेको छ ।

सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन सुधारका लागि विषयगत शिक्षकहरूलाई तालीमसमेत नगरपालिकाले दिन थालेको छ । भगवती माध्यमिक विद्यालयका विज्ञान विषयका शिक्षक गणेश श्रेष्ठले नगरपालिकाले थालेको अभियानले पठनपाठनमा सुधार ल्याउन सकिने बताए । ‘पाठयक्रम परिमार्जन भइरहेको हुन्छ’, उनले भने, ‘कतिपय विषयगत शिक्षकलाई पनि थाहा हुँदैन ।’

शिक्षा सन्देश इङ्लिस स्कुलका शिक्षक सुजन चौधरी परीक्षामा सबै विद्यार्थीहरूलाई सहजता कसरी अपनाउने भन्नेमा कहिलेकाहीँ शिक्षक नै अलमलमा पर्ने गरेको बताउँछन् । उनले भने, ‘नगरपालिकाले गर्ने तालीम, सेमिनार तथा विषयगत शिक्षकहरूसँगको छलफलले सहजता अपनाउँछ ।’

addd

नगरपालिका तथा शैक्षिक क्षेत्रमा काम गर्ने संस्थाले शैक्षिक सत्रको सुरुमै विद्यालय तथा विद्यार्थीलाई आकर्षित गर्ने खालका कार्यक्रम ल्याउँदा विद्यार्थीहरूले राम्रो प्रतिफल ल्याउने बेलबारी प्याब्सनका अध्यक्ष भुपाल बस्नेतले बताए ।

अघिल्ला आर्थिक वर्षका शैक्षिक क्षेत्रका समस्यालाई न्यूनीकरण गर्नका लागि नगरपालिकाले शैक्षिक सत्रको शुरुमै कार्यक्रम गरेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । बाल कक्षादेखि नै शैक्षिक सुधारको कार्यक्रम गर्न थालिएको उनको भनाइ छ ।