झापाः झापाको मेचीनगरका धेरै महिलामा पाठेघरको मुखमा सङ्क्रमण देखिएको छ ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले नगरका महिलालाई लक्षित गरी सोमबार काँकरभिट्टा स्वास्थ्य केन्द्रमा निःशुल्क पाठेघर खस्ने रोगको उपचारको लागि शिविर सञ्चालन गरेको थियो । शिविरमा स्क्रिनिङ रिङ पेसरी तथा भीआईए परीक्षणमा आएका झण्डै ४० प्रतिशतमा यो समस्या देखिएको शाखा संयोजक शशीकला राईले बताइन् ।

उनका अनुसार ७४ जनाको स्वास्थ्य परीक्षण गर्दा २२ जनामा यस्तो समस्या देखिएको हो । ७ जनामा पाठेघरको मुखको क्यान्सरको सम्भावना देखिएकाले अन्यत्र रेफर गरिएको छ । ४ जनामा पाठेघर (आङ खस्ने) समस्या देखिएको र ३ जनालाई रिङ पेसरी लगाएर पठाइएको उनले बताइन् ।

addd

रिङ पेसरी प्रयोग गरेपछि तल्लो पेटको दुखाइ कम हुने र हिँडडुल गर्न केही सहज हुने चिकित्सकको भनाइ छ । पेसरी ३ महिनामा फेरिरहनु पर्ने चिकित्सकहरू बताउँछन् । कम उमेरमै बच्चा जन्माउने समस्या, बाल विवाह, आहारविहार, सुत्केरी अवस्थामा गह्रुङ्गो भारी बोक्नेजस्ता कारण पाठेघर खस्ने समस्या देखिने चिकित्सकको भनाइ छ ।

शिविरमा बिर्तामोडस्थित बीएण्डसी अस्पतालका डाक्टर मनोहरकुमार राय, स्वास्थ्य सहायक विवश पौडेललगायतले सेवा प्रदान गरेका थिए ।