तस्बिरः लक्ष्मण थापा
धरानः न्युट्रिसियन काउन्सिलिङ एण्ड रिसर्च प्रालिद्वारा धरानमा मधुमेह र मोटोपनासम्बन्धी १ दिने कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल विभागका चिकित्सक प्रो. रविन मास्केले शारीरिक व्यायाम र सन्तुलित खानपिनका अभावका कारण अहिले मधुमेहका बिरामीहरू बढिरहेको बताए । चिकित्सक र बिरामीलाई एकै ठाउँमा राखेर कार्यक्रम गर्दा सहभागीहरू एकदमै लाभान्वित हुने उनले बताए । मधुमेह रोग लागेकालाई र नलागेका दुवैलाई कार्यक्रम फाइदाजनक रहेको उनले बताए ।
सो कार्यक्रममा सहभागीहरूले समेत यस्ता खालका कार्यक्रम प्रभावकारी हुने बताएका थिए । उनीहरूले आफूहरूले यसबाट धेरै कुरा सिक्न पाएको बताए । धरानमा लामो समयदेखि फिजिकल फिटनेस सञ्चालन गर्दै आएका प्रवीणभगत प्रधानाङ्ले शारीरिक व्यायामकै कारण आफू फिट भएको र शारीरिक व्ययाम सँगसँगै हामीले खानपिनमा पनि ध्यान दिनुपर्ने बताए । मधुमेहबाट बच्ने उपायका विषयमा जानकारी पाएकोमा खुशी व्यक्त गर्दै यस्तो कार्यक्रम सम्बन्धित निकायहरूले बेला(बेलामा गर्नुपर्ने उनले बताए ।
मधुमेहबाट ग्रसित धरान– ९ का रामस्वरूप शर्माले वर्कसपमा सिकेका कुरालाई व्यवहारमा उतार्ने बताए । विगतदेखि नै मधुमेह, उच्च रक्तचापका विषयमा विभिन्न ठाउमा गएर सचेतना कार्यक्रम गर्दै आएको न्युट्रेसन काउन्सिलिङ एण्ड रिसर्चका कार्यकारी निर्देशक प्रवीण भट्टराईले बताए ।
आफूले पोषण विज्ञान अध्ययन गरिसकेपछि काठमाडौंदेखि बाहिर संस्था खोलेर सचेतना कार्यक्रमको आयोजना गर्दै आएको उनको भनाइ थियो ।
धरान–९ स्थित रत्न इन होटलमा भएको कार्यक्रममा मधुमेहलाई नियन्त्रणमा राखेबापत धरानका शान्तिराम काफ्ले, रामस्वरूप शर्मा, किशोर अधिकारी र प्रवीणभगत प्रधानाङ्गलाई प्रोत्साहनस्वरूप पुरस्कृतसमेत गरिएको थियो । प्रालिका अध्यक्ष कोमल गुरागाईंको अध्यक्षता तथा प्रियङ्का पराजुलीको संयोजकत्वमा भएको कार्यक्रममा पोषण विज्ञानकी विज्ञ डा. शिल्पी विक्रमले जानकारीमूलक भनाइ राखेकी थिइन् ।
कार्यक्रममा सुनसरी, मोरङका डाइटिसियन, पोषणविदलगायत ३५ जना सहभागी थिए । कार्यक्रमको सञ्चालन न्युट्रिसियनका विद्यार्थी प्रज्ज्वल दुलालले गरेका थिए ।