इटहरीः इटहरी–४ स्थित हाम्रो सेकेण्डरी बोर्डिङ स्कुलमा शुक्रबार विद्यार्थी प्रतिनिधि छान्नका लागि भएको निर्वाचनमा रोनिस कटवाल स्कुल क्याप्टेन चयन भएका छन् ।

स्कुलको प्राङ्गणमा भएको निर्वाचनमा खसेको कुल ५ सय २१ मतमध्ये रोनिसले २ सय १५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सोफिया मेगालेले ६५ मत प्राप्त गरका थिए ।

nijamati ad

भाइस क्याप्टेनमा इशारा कठायत १ सय ७८ मत प्राप्त गरी झिनो मतअन्तरले विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी इशा कार्कीले १ सय ७२ मत प्राप्त गरिन् । स्कुलका प्रिन्सिपल एवम् निर्वाचन आयुक्त तेजबहादुर निरौलाका अनुसार नीलो सदनको क्याप्टेनमा सक्षम केसी, भाइस क्याप्टेनमा मनिष राई, हरियो सदनको क्याप्टेनमा कसिस बोगटी र भाइस क्याप्टेनमा नीता कार्की निर्वाचित भएका छन् ।

सुन्तला सदनको क्याप्टेनमा सन्ध्या श्रेष्ठ, र भाइस क्याप्टेनमा प्रेक्षा भट्टराई तथा रातो सदनको क्याप्टेनमा रीतिका गुरुङ र भाइस क्याप्टेनमा अन्सु राई चयन भएका छन् । विद्यार्थीलाई निर्वाचनको अभ्यास गराई लोकतान्त्रिक विधिले अतिरिक्त क्रियाकलाप गराउन सहज होस् भन्ने उद्देश्यले निर्वाचन गरिएको निर्वाचन परिचालन समितिका सदस्य शिक्षक बादल बरालले जानकारी दिए ।