शैक्षिक परामर्श संस्थाको मनपरी शुल्क वृद्धिले विद्यार्थी मारमा परेको र सेवाभन्दा व्यापारमा केन्द्रित भएको सेवाग्राहीको भनाइ छ । इटहरीलगायत पूर्वका हरेक शहरमा बग्रेल्ती खुलेका शैक्षिक संस्थाले विद्यार्थीलाई ठगिरहेको भन्ने गुनासो व्यापक रूपमा उठ्ने गरेको छ ।
विदेश पठाउनेदेखि नेपालमै राम्रो भाषा सिकाउने बहानामा यस्ता इन्स्टिच्युटहरूले महङ्गो शुल्क लिइरहेका छन् । शुल्क लिएर पनि गुणस्तरीयता नदिएको भन्ने गुनासो आइरहेका बेला इटहरीमै लामो समयदेखि सञ्चालनमा रहेको आकाश इन्स्टिच्युटका सञ्चालक कमल तिम्सिनासँग गरिएको कुराकानी ।
बजारमा धरै एजुकेशनल इन्स्टिच्युटहरू छन् । आकाश इन्स्टिच्युट र अरु इन्स्टिच्युटमा के फरक छ ?
संस्थाको व्यवस्थापन र सेवाले त्यसको हैसियत निर्धारण गर्छ । एजुकेशनल अर्गनाइजेशनले दिने भनेकै सेवा हो । यो एक सेवामूलक व्यवसाय हो । जसले विद्यार्थीलाई भविष्यको बाटो देखाउन सक्छ कि सक्दैन । वा विद्यार्थीले कल्पना गरेअनुसारको भविष्यको मार्ग देखाउन सक्छ कि सक्दैन भन्ने कुरा मुख्य हुन्छ । यससँगै इन्फास्ट्रक्चरको कुरा पनि रह्यो । विद्यार्थीलाई ढाँट्नु भएन । यी र यस्तै कुरामा आकाश अलि अघि छ ।
अहिले कस्ता कार्यक्रम चलाइरहनुभएको छ ?
मुख्यतः अहिले ब्रिज कोर्षका कक्षा लिइरहेका छौँ । एसईई दिइसकेका विद्यार्थीको लागि इन्ट्रान्सलाई फोकस गरेर कार्यक्रम अघि बढाइरहेका छौँ । हाम्रो मुख्य काम भनेको करियर काउन्सिलिङ गर्ने हो । त्यो हामी गरिरहेकै छौँ ।
त्यसका साथै ट्राफिक सचेतना, लागूऔषध दुव्र्यसनविरुद्धको कार्यक्रम, साइबर क्राइमलगायतको बारेमा प्रहरी र प्रशासनका प्रमुखहरूसँग अन्तरक्रिया गर्यौँ । हरेक बिहान १ घण्टा कक्षा सञ्चालन गराउने र बाँकी १ घण्टा चरित्र विज्ञानसँग सम्बन्धित योग र ध्यानमा लगाइरहेका छाँै । किशोरकिशोरीहरू परिवार र समाजप्रति गैरजिम्मेवार बन्ने क्रम बढेकाले हामीले त्यसमा ध्यान दिएका छौँ ।
विदेशमा विद्यार्थी पठाएर बिचल्ली पार्ने संस्थाहरू पनि छन् भन्छन् नि ?
हामीले विदेशमा भन्दा पनि नेपालमै ध्यान दिएका छौँ । बरु विदेशी विद्यार्थीलाई कसरी नेपाल ल्याउने भन्नेबारे सोचिरहेका छौँ । सगरमाथा र गौतम बुद्धको बारेमा कोर्षमा भन्दा पनि प्राक्टिकल अध्ययन गराउने भन्दै नेपालमा विदेशी विद्यार्थी आकर्षित गर्न सकिने आधार तयार पारेका छाँै ।
यसको मतलब कुनै पनि देशमा तपाईँहरूले पठाएका विद्यार्थी छैनन् ?
हामी केही देशमा त पठाउँछौँ । पठाएकामध्ये ९९ प्रतिशत विद्यार्थीको अवस्था राम्रो छ । मुख्यतया जापान, भारत, चीन र क्यानडा पठाउँछौँ । हामीले पठाएका विद्यार्थीमा अहिलेसम्म कुनै पनि समस्या आएको छैन । कसैले समस्या भएको बतायो भने हामी त्यसको जिम्मेवारी लिन तयार छौँ ।
बाँकी योजना के छ ?
मेरो त जीवन नै यसै क्षेत्रमा बितिसकेको छ । यसैलाई कसरी सबैको पहुँचमा पुर्याउने भन्नेबारे ध्यान दिइरहेका छौँ । यही जेठ २० गते हामी एजुकेशनल फेयर गर्दैछौँ । एसईई र १२ को परीक्षा दिएका विद्यार्थीलाई करियर काउन्सिलिङको काम हामी गर्छौँ ।
कन्सल्टेन्सीले लिने शिक्षा महङ्गो भयो भन्छन् नि, हो ?
त्यस्तो होइन । ७ वर्षअघि ७ हजारमा पढाएको ब्रिजकोर्स अहिले ६ हजारमा पढाउँदैछौँ । अनि कसरी महङ्गो भयो ? पछिल्लो समय धेरै इन्स्टिच्युट खुलिरहेका छन् । प्रतिष्पर्धा बढिरहेको छ । शुल्क निर्धारण नभएका कारण शुल्क बढ्नुपर्नेमा घटिरहेको छ ।
..