धरानः धरान–१६ स्थित पञ्चायत आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक र छात्रवृत्ति वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद अधिकारीले इटहरी–२ का समाजसेवी विनोद अधिकारीबाट प्राप्त २१ हजार रुपैयाँ बराबरको तयारी पोशाक १७ जना विद्यार्थीलाई वितरण गरे ।
त्यस्तै, राइड फर राइट्स नेपालले बाल कक्षाका विद्यार्थीका लागि ११ हजार ३ सय रुपैयाँबराबरको डसना र बेड कभर विद्यालयलाई हस्तान्तरण गरेको छ । राइडकी अध्यक्ष उषा ढकाल, कोषाध्यक्ष बाबुराम घिमिरे, सदस्यहरू शिखा लिम्बू र नुम्सा लिम्बूले विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईलाई ती सामग्री हस्तान्तरण गरे ।
यसैगरी, जेएस गु्रपकी संयोजक श्वेता अग्रवालले विद्यार्थीलाई जुस वितरण गरिन् । असार १ गतेबाट बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिउँसोको खाजाको व्यवस्था गर्ने अग्रवालले बताइन् ।
धरान–१३ स्थित भगवती आधारभूत विद्यालयका शिक्षक अच्युत पराजुलीले पञ्चायत आधारभूत विद्यालयमा ११ हजार १ सय ११ रुपैयाँबराबरको अक्षयकोष स्थापना गरे । यसैगरी, सरकारबाट दलित र छात्राका लागि प्राप्त ११ हजार २ सय रुपैयाँबराबरको छात्रवृत्ति रकम २८ जना विद्यार्थीलाई प्रदान गरिएको विद्यालयले जनाएको छ ।