धनकुटाः स्थानीय तहका जनप्रतिनिधिहरू भ्रष्टाचार र अनियमिततामा मुछिने क्रम बढिरहेको समाचार आइरहेको बेला धनकुटाका जनप्रतिनिधिले भने उदाहरणीय काम गरेका छन् ।

धनकुटा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विकास घिमिरेले आफूले अहिलेसम्म प्राप्त सेवा सुविधावाट स्थानीय विद्यालयको ऋण तिरिदिएका छन् ।

धनकुटा नगरपालिका वडा नम्बर ३ स्याउलेमा रहेको ज्वालादेवी आधारभूत विद्यालयको ३ लाख १८ हजार रुपैयाँ ऋण उनले आफ्नो पारिश्रमिकबाट तिरिदिएका हुन् । आफ्नो २३ महिना बराबरको पारिश्रमिका उनले विद्यालयको ऋण तिर्न सहयोग गरेका हुन् । ‘विद्यालयको स्तरोन्नति त गर्न लगाइयो तर विद्यालय ऋणमा डुब्यो,’ उनले भने, ‘तिर्ने अन्य कुनै बाटो थिएन । त्यसैले आफ्नै सेवा सुविधाबापतको रकमबाट तिरको हुँ ।’

विद्यालयमा लगाइएको रङ, छानो, कार्पेट, फर्निचरका सामग्री, टीभीलगायतको सामग्री गरिद गर्दा सो रकम बक्यौताको रूपमा रहेको थियो ।

विद्यालयको अन्य कुनै आम्दानीको स्रोत नहँुदा विद्यालयले सो रकम तिर्न सकेको थिएन । सो विद्यालय वडाध्यक्षले प्राथमिक शिक्षा हासिल गरेको विद्यालय समेत हो । वडाध्यक्ष आफैँ संलग्न भएर अहिले विद्यालयको व्यवस्थापन सुधारमा जुटेसँगै विद्यालयमा धेरै सुधार समेत आएको छ ।

अङ्ग्रेजी माध्यमको पढाइ, दिवा खाजा, बालमैत्री कक्षा शुरु गरेसँगै बन्द हुने अवस्थामा पुगेको विद्यालयमा एकाएक विद्यार्थी समेत थपिएका छन् । २ वर्ष अघि १५ जना मात्र विद्यार्थी रहेको स्कुलमा अहिले भने ४५ जना विद्यार्थी छन् ।

jwaladevi prabi dhankuta (1)