बेलबारीः १८ वर्षदेखि मानसिक रोगका कारण थला परेका बेलबारी–९ का पूर्णबहादुर भण्डारीकोे उपचार हुन थालेको छ । केही वर्षदेखि दाम्लोका भरमा रहेका भण्डारीको उपचारका लागि बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले चासो देखाएका छन् ।

लामो समयदेखि उपचार नपाई घरमा बसेको थाहा पाएपछि वडा नम्बर ९ का अध्यक्ष नगेन्द्र खड्काले मेयर सुवेदीलाई जानकारी गराएका थिए । खबर पाउनासाथ मेयर सुवेदीले नगरपालिकमा रहेका स्वास्थ्यकर्मीको टोलीलाई घरमै पठाएका थिए ।

‘धामीझाँक्रीमात्रै लगाएर बसेका थियौँ’, पूर्णबहादुरकी दिदी सीताले भनिन्, ‘जङ्गली लागेको भन्दै धामीले २ सय भन्दा बढी कुखुरा पनि खाइसके ।’ डाक्टर लगाउँदा ठीक हुँदैन भनेर उपचार नगरी धामीझाँक्रीको भरमा परेको उनले बताइन् । बुधबारदेखि नै उनको उपचार थालिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सन्तोष विश्वकर्माले बताए ।