विराटनगरः नेपाल नर्सिङ सङ्घ मोरङको भवन विराटनगरको वडा नम्बर ४ मा बन्ने भएको छ ।
सो भवनको आज विराटनगर महानगरका मेयर भीम पराजुलीले शिलान्यास गरे । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले उपलब्ध गरााएको १० धुर जग्गामा ४ कोठे भवन बन्न लागेको हो । शिलान्यास कार्यक्रममा बोल्दै मेयर पराजुलीले नर्सिङ पेशा र हकहितका सवालमा संस्थाले दर्बिलो भएर काम गर्न आवश्यक भएको बताए ।
पेशागत रूपमा अझै पनि श्रमशोषण हुने गरेका घटना बाहिर आइरहेको र यसलाई सम्बोधन गर्ने संस्था जागरुक हुन आवश्यक रहेको उनको भनाइ थियो । भवन निर्माणका लागि महानगरले यथाशक्य सहयोग गर्ने आश्वासन मेयर पराजुलीले दिए ।
यस्तै, नर्सिङ सङ्घकी केन्द्रीय उपाध्यक्ष तारा शाहले सेवाभावका साथ काम गर्ने नर्सले विभिन्न कठिनाइका साथ काम गर्नुपरेको बताइन् । राज्यले नर्सहरूको सुरक्षा, सेवा र भैपरी आउने उल्झनका विषयमा सोच्न जरुरी भएको उनको भनाइ थियो ।
कार्यक्रममा नर्सिङ स्टाफ पुनम गिरीले भवन निर्माणका लागि १ लाख १ सय १ रुपैयाँ प्रदान गरेकी छिन् । सङ्घकी अध्यक्ष कविता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, नोबेल मेडिकल कलेजका लोकनाथ न्यौपाने, इन्दिरा शर्मा तथा सङ्घकी सचिव मेनुका भण्डारीलगायतले आआफ्ना धारणा राखेका थिए ।