धरानः मे मेजरमेन्ट मन्थ २०१९ अहिले देशैभर विभिन्न ठाउँहरूमा रक्तचाप मापन गर्दै र उचित सल्लाह दिँदै मनाइँदै छ ।
इन्टरनेसनल सोसाइटी अफ हाइपर्टेन्सनको पहलमा र नेपालका संयोजकको सहयोगमा मे महिनाभर देशका भिभिन्न ठाउँहरूमा, विभिन्न सङ्घ सस्थाहरू र स्वयम्सेवकको सहयोगमा रक्तचाप नाप्ने कार्यक्रम भइरहेको छ ।
बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरान को पीएसआरएन (सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक नेपाल विद्यार्थी एकाइ)का अध्यक्ष लोकेन्द्र अवस्थीका अनुसार उच्च रक्तचापको प्रमुख कारण अस्वस्थ जीवनशैली हो । आफ्नो जीवनशैलीमा परिवर्तन गरेर नै रक्तचापको नियन्त्रण गर्न खोज्नुपर्ने उनले बताए । त्यसमध्ये पनि चुरोटको प्रयोग पूर्ण रूपले बन्द गर्नु सबभन्दा राम्रो उपाय भएको उनको भनाइ छ ।
यसको अतिरिक्त तौललाई नियन्त्रणमा राख्ने तथा वजन घटाउने, प्रतिदिन शारीरिक गतिविधि गर्ने र नुनिलो खानेकुराहरूको सकेसम्म कम प्रयोग गर्ने जस्ता उपायहरू अपनाउनुपर्ने उनको भनाइ थियो ।
धरानमा उक्त एकाइका साथसाथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकै डा. प्रज्ज्वल प्याकुरेलको समूहले पनि रक्तचाप मापन कार्यक्रम चलाइरहेका छन् ।
मधुमेह र मृगौलाका बिरामीहरू, ३५ वर्ष नाघेका व्यक्तिहरू तथा खासगरी पुरुष, ज्यादै मोटाएका, धूमपान, मद्यपान गर्ने, उच्च मानसिक चिन्ता र तनावमा रहने व्यक्तिमा उच्च रक्तचापको सम्भावना हुने उनको भनाइ छ ।
त्यस्तै, उच्च रक्तचापको पारिवारिक पृष्ठभूमि भएका, नुनको अधिक प्रयोग गर्ने, परिश्रम तथा व्यायाम नगरी आरामदायी जीवन बिताउने व्यक्ति र गर्भवती महिलामा उच्च रक्तचापको जोखिम बढी हुने डा. प्याकुरेल बताउँछन् ।
सोही अभियानमा संलग्न स्वयंसेविका नर्स अनुपा अर्यालका अनुसार धेरैजसो मानिसमा उच्च रक्तचाप हुँदा पनि कुनै बाहिरी समस्या नदेखिन सक्छ । तर टाउको दुखेमा, कान कराएमा, आँखा राम्ररी नदेखेमा, छाती दुखेमा, रिंगटा लागेमा र खुट्टा सुन्निएमा तुरुन्तै रक्तचाप नाप्नु पर्दछ ।
जीवनशैलीमा परिवर्तन गर्दै चिकित्सकको सल्लाहअनुसार औषधि नियमित रूपले खानु र समयसमयमा आवश्यक जाँच गर्नु नै रक्तचाप नियन्त्रणको मूल सूत्र हो ।