भोजपुरः खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको अगुवाइमा शुक्रबार भोजपुर सदरमुकाममा बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा केही पसल तथा होटलमा खाद्य तथा मासुजन्य पदार्थ गुणस्तरयुक्त नभएको पाइएको छ ।

भोजपुर बजार क्षेत्र आसपासका १६ वटा पसलमा अनुगमन गरिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । प्रशासन, नागरिक समाज, पत्रकार, उद्योग वाणिज्य सङ्घसमेतको सहभागितामा मिठाइ पसल, किराना पसल, मासु पसल, होटल र पाउरोटी उद्योगको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा मासु पसल अव्यवस्थित रहेको पाइएकाले छोपेर राख्न तथा सफाइमा ध्यान दिन सचेत गराइएको छ । त्यस्तै मिठाइ पसलमा बनाइएका परिकारमा रङको मात्रा बढी पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका निमित्त प्रमुख शिवशङ्कर मिश्रले बताए ।

अनुगमनको क्रममा तेल, चाउचाउ, कुरकुरे लगायतका ५ वटा खाद्य सामग्रीको नमुना ल्याब परीक्षणको लागि लगिएको अनुगमन टोलीले जनाएको छ ।