धरानः त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ महेन्द्र बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा क्याम्पस परिसर सफाइ गरिएको छ ।
सङ्घको ४० औँ स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरू सहभागी थिए । सो अवसरमा उनीहरूले क्याम्पस हाताभित्र फालिएका प्लाष्टिकजन्य फोहोरका साथै अन्य फोहोरहरू पनि सफा गरेका थिए । त्यस क्रममा घाँस पनि उखेलिएको थियो ।
बिहान ८ बजे शुरु भएको कार्यक्रम साढे ९ बजेसम्म चलेको थियो । कार्यक्रमबाट क्याम्पस परिसर सफा देखिएको विद्यार्थीहरूले बताए । उनीहरूले यस्ता कार्यक्रम हरेक महिना आयोजना भए अझ राम्रो हुने धारणा राखे । प्राध्यापक सङ्घको स्थापना दिवस रचनात्मक ढङ्गले मनाउन यस्तो कार्यक्रम राखिएको सङ्घका इकाइ सभापति कमलप्रसाद दाहालले बताए ।
क्याम्पस प्रमुख चन्द्रकुमार राईले पनि सङ्घले रचनात्मक कार्यक्रम राखेकोमा खुशी व्यक्त गरे । ‘यो राम्रो कार्यक्रम हो’, उनले भने, ‘यसबाट क्याम्पस परिसर सफा देखिएको छ ।’