इटहरीः विश्वका धनी व्यक्तिहरूको नाम सार्वजनिक गर्ने अमेरिकी पत्रिका फोब्र्सले नेपालका १० जना धनीहरूको पनि नाम सार्वजनिक गरेको छ । सो पत्रिकाले जनाएअनुसार सबभन्दा धनी नेपाली उद्योगपति विनोद चौधरी हुन् भने १० औं धनी व्यक्ति पूर्व राजा ज्ञानेन्द्र शाह हुन् । नेपालमा जन्मिएर नेपाललगायतका विश्वका विभिन्न मुलुकमा व्यापार व्यवसाय गरिरहेकाहरू सूचीमा परेका छन् । हेरौं फाेर्सले सार्वजनिक गरेका १० धनी व्यक्तिहरूः
विनोद चौधरीः सूचीको पहिलो नम्बरमा उद्योगी विनोद चौधरी रहेका छन् । उनको सम्पत्ति १.६ बिलियन डलर रहेको छ । फोब्र्सको अर्बपति सूचीमा समावेश हुने पहिलो व्यक्ति उनी हुन् । उनी विश्वका डलर अर्बपतिको सूचीमा १३४२ औं स्थानमा छन् ।
चौधरी ग्रुपका अध्यक्ष रहेका विनोद चौधरीको नेतृत्वमा देशभित्र र बाहिर ८० भन्दा बढी कम्पनी तथा उद्योग रहेको पत्रिकाले उल्लेख गरेको छ ।
शेष घलेः फोब्र्सका अनुसार दोस्रो धनी नेपाली शेष घले हुन् । घलेको कुल सम्पत्ति ४ सय १० मिलियन डलर रहेको छ । उनी अष्ट्रेलियाका ९९ औं धनीको रूपमा सूचीकृत व्यक्ति समेत हुन् । उनी गैरआवासीय नेपाली संघका तत्कालीन अध्यक्ष हुन् भने मेलबर्न इन्स्टिच्यूट अफ टेक्नोलोजीका अध्यक्ष हुन् ।
उपेन्द्र महतोः
सबैभन्दा धनी नेपालीको सूचीमा उपेन्द्र महतो तेस्रो स्थानमा छन् । उनको सम्पत्ति ३ सय ६० मिलियन डलर रहेको छ । रसियामा पिएचडीको अध्ययन सकेका महतोले इलोक्ट्रोनिक्स, तेल, हेभी मेसिनरी र बैंकिङ लगायतका क्षेत्रमा हात हालेका छन् । उनको नेटवर्थ २ सय ५० मिलियनदेखि १ बिलियनको बीचमा रहेको बताइन्छ ।
अजय सुमार्गी
अजय सुमार्गी चौथो धनी नेपालीको रूपमा रहेका छन् । उनको कुल सम्पत्ति २ सय मिलियन डलर रहेको फोब्र्सको दाबी छ । सुमार्गी नेपालको हेटौंडामा जन्मिएका हुन् । उनी पुष्पकमल दाहालसँगको घनिष्ठ सम्बन्धका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् । उनी नेपालका सीमित करोडपतिमध्येका एक रहेको पत्रिकाको भनाइ छ । मुक्तिश्री प्रालिको अध्यक्ष रहेका उनले नेपालमा विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।
आदित्य झा
जनकपुरमा जन्मिएका गैरआवासीय नेपाली आदित्य झा सूचीको पाँचौँ स्थानमा छन् । उनको सम्पत्ति १ सय मिलियन डलर रहेको बताइएको छ । उनी हाल क्यानेडियन व्यवसायी तथा सामाजिक अभियन्ताका रूपमा परिचित भएका छन् ।
जीवा लामिछाने
फोब्र्सको अर्बपति सूचीको छैटौं स्थानमा रहेका लामिछाने पनि गैरआवासीय नेपाली हुन् । उनी रसियन मार्केटमा सप्लाई हुने एल्सन ब्राण्डको एलसिडी टिभी उत्पादक कम्पनी टेक्नो टस्टका निर्देशक पनि हुन् । उनी सन् १९८६ मा इञ्जिनियरिङको अध्ययन पूरा गर्न रसिया पुगेका थिए, त्यहाँ उनले सामसुङ, सोनी र एलजीको डिलरको व्यापार डा. उपेन्द्र महतोसँग सहकार्य गरेर थालेका थिए ।
पशुपतिसमशेर राणा
सर्वाधिक धनी नेपालीको सूचीको सातौं नम्बरमा राजनीतिज्ञ पशुपति समशेर जंगबहादुर राणा छन् । उनको कुल सम्पत्ति ८४ मिलियन डलर रहेको छ । एउटा अन्तर्वार्तामा उनले भनेका छन् कि उनकी श्रीमतीले दाइजोको रूपमा मात्रै अढाइ करोड रुपैयाँ सम्पत्ति ल्याइएकी थिइन् । धनी व्यक्तिको सूचीमा पर्ने १ मात्र राजनीतिज्ञ उनी हुन् ।
बलराम चैनराई
हङकङमा बसेर व्यापार गर्ने नेपाली व्यवसायी चैनराई सूचीको आठौं नम्बरमा छन् । उनको कुल सम्पत्ति ७० मिलियन डलर रहेको छ । उनको रियल स्टेट र इलेक्ट्रिोनिक्स क्षेत्रमा निकै ठूलो व्यापार रहेको छ । उनी हङकङको साउथ एशियन सोसाइटीको नेतृत्वकर्ता पनि हुन् । उनी ओखलढुंंगामा जन्मिएका हुन् र आफ्ना ब्रिटिस आर्मी बुबाको साथमा हङकङ गएका थिए ।
राजेन्द्र खेतान
उद्योगी राजेन्द्र खेतान नवौं धनी व्यक्तिको सूचीमा रहेका छन् । उनको कुल सम्पत्ति ६२ मिलियन डलर रहेको छ । फोब्र्सका अनुसार खेतान परिवारले १ सय वर्षभन्दा अघिदेखि नेपालमा व्यापारको शुरुवात गरेको थियो । खेतान गु्रपअन्तर्गत १३ वटा भन्दा बढी कम्पनी तथा उद्योगहरू रहेका छन् । लक्ष्मी बैंक र प्राइम लाइफ इन्स्योरेन्सका अध्यक्ष समेत रहेका खेतान सानो उमेरमै सफल बनेका एक नेपाली उद्योगपति रहेको पत्रिकाले उल्लेख गरेको छ ।
ज्ञानेन्द्र शाह
धनी नेपालीको सूचीको १० औं नम्बरमा पूर्व राज ज्ञानेन्द्र शाह रहेका छन् । उनले सन् २००१ देखि २००८ सम्म नेपालमा राजाको रूपमा शासन चलाएका थिए । उनको कुल सम्पत्ति ५८ मिलियन डलर रहेको पत्रिकाले दाबी गरेको छ ।
शाह र उनको परिवारको १७ इन्टरप्राइजेज र कम्पनीहरूमा सेयर रहेको बताइएको छ ।