इटहरी/ चाँडै नै ५ अर्ब ५४ करोड बराबरको आइपिओ बजारमा आउने भएका छन् । नेपाल धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका, अनुमति पाएर सर्वसाधारणलाई साधारण सेयर बिक्री गर्न बाँकी रहेकासमेत जोड्दा सो परिमाणको आइपिओ आउने भएको हो ।

अनुमति पाइसकेकामध्ये शिवम् सिमेन्टले सर्वसाधारणलाई छुट्याएको १ अर्ब ७६ करोडको सेयर छ भने आँखुखोला हाइड्रोको सर्वसाधारणलाई निष्काशन गर्न बाँकी रहेको १२ करोड रुपैयाँको सेयर रहेको छ ।

त्यस्तै, घलेम्दी हाइड्रोको ४ करोड ५५ लाखको सेयर र जोशी हाइड्रोको स्थानीयलाई बिक्री हुन नसकेको २ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर चाँडै नै आउन लागेको हो ।

कुनकुन छन् अनुमति पर्खेर बसेका ?
उता, अनुमतिको पर्खाइमा रहेकामा गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडको २ लाख कित्ता, लाफिङ बुद्ध पावर नेपालको ९ लाख ७८ हजार कित्ता, युनिक हाइडेलको ५ लाख ५० हजार कित्ता रहेका छन् । यी सबै स्थानीयका लागि हुन् ।

हिमालय ऊर्जा विकास कम्पनीको ९ लाख ९० हजार कित्ता, शिवश्री हाइड्रोको १४ लाख ७६ हजार ४ सय कित्ता, सीइडिबी हाइड्रोको २२ लाख ८९ हजार ३ सय कित्ता, सयपत्री हाइड्रोको ३ लाख कित्ता सेयर अनुमतिको पर्खाइमा रहेका छन् ।

सर्वसाधारणतर्फ मैलुङ खोलाको ७ लाख ३६ हजार २ सय ८६ कित्ता, सीबिआइएल क्यापिटलको ३ लाख कित्ता, चौतारी लघुवित्तको ५ लाख ४० हजार कित्ता, घलेम्दी हाइड्रोको ११ लाख कित्ता, पाँचथर पावरको १९ लाख २५ हजार कित्ता आइपिओ पनि आउने भएको छ ।

युनिभर्सल पावरले स्थानीय र सर्वसाधारणलाई गरी ९६ लाख ६१ हजार ६ सय १० कित्ता अनुमतिको पर्खाइमा छ । यस्तै, मध्य भोटेकोशी जलविद्युतको १ करोड ४४ लाख कित्ता शेयर पनि अनुमतिको पर्खाइमा छ । यसमा सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनीका कर्मचारी र ऋणदाता कम्पनीका कर्मचारीहरुले मात्र आवेदन दिन पाउने छन् ।

नयाँ जीवन बीमा कम्पनीको पनि आउँदै
नयाँँ जीवन बीमा कम्पनीको पनि ठूलो सङ्ख्यामा आइपिओ आउँदैछ । सबै ९ वटा जीवन बीमा कम्पनीले यसै आर्थिक वर्षभित्रमा भारी मात्रामा आइपिओ खुल्दैछ । नयाँ लघुवित्तको आइपिओ पनि पाइपलाइनमा रहेका छन् ।

उता, पुनर्बीमा कम्पनीले १ सय ६० करोडको आइपिओ जारी गर्ने भएको छ ।