इटहरीः पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालले अयोजना गरेको स्वास्थ्य शिविरमा ३ सय ५० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ स्थित गछिया आधारभूत विद्यालयमा शिविर सम्पन्न भएको थियो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले १ जना बिरामीको स्वास्थ्य जाँच गरी कार्यक्रमको उद्घाटन भएको थियो । सुन्दरहरैंचा–७ का तेजप्रसाद सिटौलाको रगत जाँच गर्दै उनले गरीब जनताको सेवामा प्रत्यक्ष सहभागी हुन पाउँदा खुसी लागेको बताए ।

अघिल्लो महिना पनि शिविरको आयोजना गरेको अस्पतालले हरेक महिना शिविरको कार्यक्रम चलाइरहने अस्पतालका निर्देशक विपेश आचार्यले बताए । उनका अनुसार पूर्वाञ्चल विश्वविद्यालय र सुन्दरहरंैचाका नागरिकबीच टाढिएको सम्बन्धलाई नजिक बनाउन कार्यक्रम चलाउने गरेको उनको भनाइ छ ।

बीपी अध्ययन प्रतिष्ठान मोरङको सहआयोजनामा सम्पन्न शिविरमा अधिकांश आँखा र छालाका रोगीको जाँच भएको उनले बताए ।

उता, अध्ययन प्रतिष्ठानका अध्यक्ष रञ्जन ओझाले गरीब तथा दुर्गम क्षेत्रमा बस्ने जनताको स्वास्थ्य क्षेत्रमा पहुँच अझै पुग्न नसकेका कारण यस्ता कार्यक्रममा सहकार्य गरेको बताए ।