धनकुटाः शिक्षक नहुँदा धनकुटाका दुई सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । अस्थायी शिक्षकको समयावधि समाप्त भएपछि तथा स्थायी शिक्षकले सो विद्यालयमा जान चासो नदेखाउँदा साँगुरीगढी गाउँपालिका–२ बुढीमोरङको गैरीगाउँमा रहेको जलकन्या आधारभूत विद्यालय तथा सोही वडाको सिंहश्वरामा रहेको बुढासुब्बा आधारभूत विद्यालय बन्द हुने अवस्थामा पुगेका हुन् ।
जलकन्या आधारभूतमा ताला लागेको डेढ महिना भइसकेको छ । सो गाउँका विद्यार्थी आफू अध्ययनरत विद्यालय बन्द भएपछि टाढाको सामुदायिक विद्यालयमा पढ्न बाध्य छन् । विद्यालयमा अस्थायी रूपमा कार्यरत शिक्षक कल्पना राईको गत फागुन मसान्तमा नियुक्तिको म्याद सकिएको थियो । पुन उनको नियुक्ति नवीकरण भएन । त्यस्तै कर्मचारीको रूपमा कार्यरत छाया लिम्बूले पनि जागिर छाडेको कारण अहिले विद्यालय अलपत्र अवस्थामा रहेको छ ।
सो विद्यालयमा गत शैक्षिक सत्रमा ५ जना विद्यार्थी अध्ययनरत थिए । नयाँ भर्ना हुने बेला शिक्षकको दरबन्दी नवीकरण नहुँदा विद्यालयले नयाँ शैक्षिक सत्रको लागि नयाँ विद्यार्थी भर्ना अभियान समेत सञ्चालन गर्न सकेन । विद्यार्र्थी अन्य विद्यालयमा भर्ना हुन बाध्य छन् । सो गाउँमा ४२ भन्दा बढी घर रहेका छन् । सो गाउँमा कक्षा–१ देखि ३ सम्म पढ्ने उमेर समूहका लगभग २५ जना बालबालिका रहेको बताइएको छ । ती सबै बालवालिका करिव आधा घण्टाको पैदल दुरीमा रहेको राम मावि तथा संस्थागत विद्यालयमा भर्ना भएको पूर्वप्रधानाध्यापक समेत रहेकी कल्पना राईले बताइन् ।
त्यस्तै, सोही वडाको सिंहश्वरा गाउँमा बुढासुब्बा आधारभूत विद्यालयमा कार्यरत २ जना शिक्षकले अनिवार्य अवकाश पाएपछि १ जना कर्मचारीको भरमा सञ्चालनमा छ । कक्षा १ देखि ३ सम्म पढाइ हुने सो विद्यालयमा कक्षा ३ मा विश्वास लिम्बू र रोमिहाङ लिम्बू अध्ययनरत छन् । तर शिक्षक नहुँदा उनीहरूको पठनपाठन हुन सकेको छैन । विद्यालयमा शिक्षक नहुँदा नयाँ भर्ना अभियान र नयाँ शैक्षिक सत्रको पढाइ हुन नसकेको सो विद्यालयकी कर्मचारी सङ्गीता लिम्बूले बताइन् । सो गाउँमा पनि ४५ भन्दा बढी घर रहेका छन् । गाउँमा रहेका अधिकांश विद्यार्थी करीब १ घण्टा टाढा रहेको राम मावि र अन्य संस्थागत विद्यालयमा गएका छन् ।
साँगुरीगढी गाउँपालिका शिक्षा शाखा प्रमुख कर्ण राईले शिक्षक अभावको कारण पठनपाठन नभएका ती २ विद्यालयमा शिक्षक जुटाउने प्रक्रिया अघि बढिरहेको बताए । नजिकै रहेको राम माविबाट एक जना शिक्षक बुढासुब्बा आधारभूत विद्यालयमा पठाउने प्रक्रिया अघि बढेको उनले बताए ।
त्यस्तै, त्यहाँ रहेका रिक्त दरबन्दीमा करारमा शिक्षक नियुक्त गर्न सकिने भए पनि प्रक्रियाबारे अनभिज्ञ हुँदा नियुक्तिमा ढिलाइ भएको उनको भनाइ छ ।