धरान: संस्कृत विद्या सम्बद्र्धिनी समितिले स्थापनाको ३३ औं वार्षिकोत्सव मनाएको छ । धरान– १४ पञ्चकन्या मार्गमा अवस्थित सो समितिअन्तर्गत पिण्डेश्वर संस्कृत माध्यमिक विद्यालय, गुरुकुल र संस्कृत विद्यापीठ गरी तीन वटा शिक्षण संस्थाहरू सञ्चालन हुँदै आएका छन् । संस्कृत वाङ्मयका विद्वान् पं. पुरुषोत्तम भट्टराईको सक्रियता र नेतृत्वमा वि.सं २०४३ मा स्थापित यस संस्थाले संस्कृत शिक्षाको संरक्षण र सम्बद्र्धनमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।
समितिका सभापति पं. पुरुषोत्तम भट्टराईको सभापतित्वमा सञ्चालित कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी प्रमुख अतिथिका रूपमा रहेकी थिइन् । कार्यक्रमको सम्बोधनका क्रममा उनले संस्कृत शिक्षा आर्जन गर्ने विद्यार्थीहरू अहिलेसम्म बेरोजगार नरहेको र भविष्यमा पनि बेरोजगार हुनु नपर्ने बताइन् । आफू पनि पण्डितकी छोरी भएको जनाउँदै उनले संस्कृतको कर्मकाण्ड, ज्योतिष आदि प्राविधिक ज्ञानबाट निकै राम्रो आम्दानी हुने र सरकारलाई कर पनि तिर्नु नपर्ने हुँदा यस पेशातर्फ धेरैको आकर्षण बढ्दै गएको उनले बताइन् ।
बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थीभन्दा गुरुकुलमा रहेर संस्कृत पढ्ने विद्यार्थीहरू कयौं गुणा बढी अनुशासित, व्यावहारिक, सामाजिक, तार्किक र बौद्धिक हुन्छन् भन्ने कुरामा उनले जोड दिइन् । विद्यालयलाई अझ व्यवस्थित रूपले सञ्चालन गर्न नगरपालिकासमेत जिम्मेवार रहेकाले यस वर्षको बजेटमा पिण्डेश्वर संस्कृत स्कुल पनि प्राथमिकतामा पर्ने कुरामा निश्चिन्त हुन उनले आग्रह गरिन् ।
कार्यक्रममा विद्यालय स्थापनाका क्रममा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो । सम्मान प्राप्त गर्नेमा हिमप्रसाद शर्मा दाहाल, सरिता अग्रवाल, मुन्सीराम अग्रवाल, भगवानदास अग्रवाल, दीपचन्द्र अग्रवाल र कृष्णकुमार अग्रवाल रहेका छन् । त्यस्तै, गौरीशङ्कर अग्रवाल, राजेन्द्र अग्रवाल, राधेश्याम अग्रवाल, भीष्मराज काफ्ले र रामबहादुर बस्नेतलाई पनि सम्मान गरिएको थियो ।
भैरव सुवेदी, कृष्णकुमार लिम्बू, त्रिलोकचन्द अटल, लालानाथ सुवेदी, राजेन्द्र पोख्रेल, बाबुराम सिग्देल, राजकुमार अग्रवाल र रामअवतार शर्मालाई पनि सम्मान गरिएको थियो । संस्थातर्फ मारवाडी महिला मञ्च धरानालाई सम्मान गरिएको थियो । मरणोपरान्त सम्मानित हुनेमा पं. दीननाथ पौडेल, पं.छविलाल पोख्रेल, फावि थोपा लिम्बू, हेमन्तराज अर्याल, शिवप्रसाद श्रेष्ठ, नेत्रप्रसाद काफ्ले, श्यामकुमार अटल, रामानन्द अग्रवाल, वृजलाल अग्रलाल, हनुमानप्रसाद अग्रवाल र कृष्णकुमार अग्रवाल रहेका छन् ।
प्रमुख अतिथि भण्डारीले विद्यालय परिसरमा निर्माण हुन लागेको गौशाला, पाकशाला र पानीट्याङ्कीको समेत शिलान्यास गरेकी थिइन् । कार्यक्रममा प्रा.डा. चन्द्रमणि नेपालले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयले ६५ जना विद्यार्थीहरूलाई निःशुल्क आवास र भोजनको सुविधासहित संस्कृत शिक्षा प्रदान गर्दै आएको उनले बताए । कार्यक्रममा कैलाशकुमार अग्रवालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । विभिन्न विद्यार्थीहरूलाई पं.जयदेव अधिकारी छात्रवृत्तिसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष पीतरुमल अग्रवाल, धरान–१४ का अध्यक्ष कृष्णप्रसाद भट्टराई, साहित्यकार कविराज न्यौपानेलगायतले शुुभकामना मन्तव्य राखेका थिए । वक्ताहरूले संस्कृत शिक्षाको महत्व पश्चिमी मुलुकहरूमा समेत बढ्दै गएकाले हामीले यसको सम्बद्र्धनमा विशेष चासो राख्नुपर्ने बताए । नगरपालिकाले समेत गुरुकुल सञ्चालनमा उल्लेख्य सहयोग गर्नुपर्ने, विद्यालयको शैक्षिक गतिविधिलाई अझ प्रभावकारी बनाउन प्रयत्न गर्नुपर्ने, चन्दादाताहरूको सहयोगबाट सञ्चालित यस विद्यालयलाई संस्कृत अध्ययनको महत्वपूर्ण स्थलका रूपमा विकसित गर्नुपर्नेजस्ता विषय उल्लेख गरेका थिए ।
कार्यक्रममा कोषराज न्यौपाने, दधिराज सुवेदी, प्रा.डा. गोपाल भण्डारी, खजाञ्चीदास अग्रवाल, महेन्द्र कायस्थ, गौरीशङ्कर अग्रवाल, आनन्दप्रसाद आचार्य, टेकराज न्यौपाने, सीताराम कोइराला, खिलनाथ खतिवडा, प्रभाव भट्टराई, नवराज ढुङ्गाना, पङ्कज घिमिरे, प्रताप भट्टराईलगायतका शिक्षाप्रेमी, साहित्यकार, उद्योगपति, समाजसेवी एवम् बुद्धिजीवीको उपस्थिति रहेको थियो ।
गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष पवनकुमार अग्रवालले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । डा.भवानीशङ्कर भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए । डा.महानन्द तिमिल्सिना र सहप्रा.गुरुप्रसाद कोइरालाले कार्यक्रमको प्रतिवेदन तयार पारेका थिए ।