उर्लाबारीः पशुपति आवासीय माध्यमिक विद्यालय, उर्लाबारी–७ की कक्षा १० की छात्रा नमूना बरालको हातमा ट्राफिक सचेतनामूलक पोस्टर थियो । उनी बुधबार पूर्वपश्चिम राजमार्गको उर्लाबारी खण्डमा दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रममा सक्रिय भएकी थिइन् ।

उनीमात्र होइन पशुपति माविको कक्षा ९ र १० मा अध्ययनरत ३० जना विद्यार्थीले रेडक्रस दिवसको अवसरमा सचेतना जागृत गरे । अस्थायी ट्राफिक प्रहरी पोष्ट र पशुपति जुनियर रेडक्रसको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा सडक सुरक्षासम्बन्धमा सवारी चालकलाई सचेतनामूलक प्रचार सामग्री वितरण गरिएको पशुपति माविका कार्यक्रम संयोजक भुपाल काफ्लेले जानकारी दिए ।

दुर्घटना न्यूनीकरणका लागि विद्यार्थीहरूको महत्वपूर्ण भूमिका हुने भएकाले सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यअनुसार कार्यक्रम गरिएको विद्यार्थीहरू बताउँछन् ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम तीव्र पारिरहेको उर्लाबारी अस्थायी ट्राफिक पोष्टका प्रहरी सहायक निरीक्षक उत्तम भण्डारीले जानकारी दिए । विद्यार्थीहरूको माध्यमबाट ट्राफिक सचेतनामूलक कार्यक्रम गर्दा प्रभावकारी हुने गरेको उनको अनुभव छ ।

त्यस्तै, पशुपति जुनियर रेडक्रसले बुधबार नै उर्लाबारी–३ को मङ्गलबारे अस्पताल, उर्लाबारी–७ को गोदावरी हस्पिटल र उर्लाबारी–५ को अरनिको हस्पिटलका बिरामीहरूलाई फलफूलसमेत वितरण गरेको कार्यक्रम संयोजक काफ्लेले जानकारी दिए ।
विद्यालयले पढाइको अलवा सामाजिक कार्यमा पनि विद्यार्थीहरूलाई सहभागी गराउँदै समाजप्रति उत्तरदायी हुन प्रेरित गर्दै आएको विद्यालयकी सञ्चालक सबिना कार्कीले जानकारी दिइन् ।