राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा गत आइतबारबाट शुरु भएको छ ।देशभरमा १ हजार १ सय ७ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन छ भने उक्त परीक्षामा ४ लाख २८ हजार ५२ परीक्षार्थी सहभागी छन् । परीक्षालाई मर्यादित तवरले सञ्चालन, समन्वय र व्यवस्थापन गर्नु बोर्डको जिम्मेवारी हो । परीक्षामा खलल पुग्ने खालका कुनै पनि गतिविधि गरेमा जिल्ला परीक्षा समन्वय समितिले केन्द्राध्यक्षलाई कुनै पनि बेला निस्काशन गर्न सक्ने अधिकार दिएको छ ।

परीक्षामा अमर्यादित काम गर्ने व्यक्तिलाई ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था  शिक्षा नियमावली, २०५० मा व्यवस्था गरिएको छ । तर मोरङको विराटनगरस्थित जनपथ माध्यमिक विद्यालयमा भने कोशी कलेजका शिक्षकबाटै चिट चोराउने गरेको खुल्न आएको छ  ।

त्यहाँ कोशी मल्टिपल कलेज र सरस्वती माध्यमिक विद्यालयका परीक्षार्थी रहेका छन् । निरीक्षक सम्बन्धित केन्द्रका केन्द्राध्यक्षले नियुक्त गर्नुपर्ने भनी निर्देशिकामा पनि छ । तर प्रचलित कानुनको बर्खिलाप हुने गरी शक्तिको आडमा आफूखुशी गरेको तथ्य सार्वजनिक भएको हो ।

वास्तविकता पत्ता लगाउन गत आइतबार सो  केन्द्रमा पुग्दा परीक्षास्थलमा हाटबजारको कोलाहलभन्दा केही फरक थिएन । हामी वास्तविकता बुझ्न त्यहाँ गएको थाहा पाएपछि जनपथ केन्द्र परेको कोशी  मल्टिपल कलेजका निर्देशक मनिष सोनीले हामीलाई फोन गरे ।

‘तपाईहरूले जेजे गर्न सक्नुहुन्छ गर्नुहोस् अनि मनीष सोनी को हो म चिनाउने छु तपाईलाई’, भन्ने जस्ता धम्कीपूर्ण भाषा प्रयोग गरे । सो धम्कीको भाषाले स्वतन्त्रपूर्वक समाचार सङ्कलन गर्न पाउने प्रेस स्वतन्त्रताप्रति धावा बोल्ने काम भएको छ ।’

कोशी मल्टिपल कलेजले विषय अनुसारका शिक्षकलाई निरीक्षकको रुपमा पठाउने र चोराउने काम गरेको नाम नखुलाउने शर्तमा एक शिक्षकले बताए । बोर्डले १ जना निरीक्षकको पारिश्रमिक ५ सय रुपैयाँ तोकेको छ । तर कोशी कलेजले भने १ हजार रुपैयाँ दैनिक पारिश्रमिक दिने भन्दै निरीक्षकलाई चिट चोराउन नै प्रोत्साहन गरेको बताइएको छ ।

हामीले यो विषयमा राष्ट्रिय परीक्षा बोर्ड क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख दीर्घध्वज चापागाईलाई जानकारी दिनेबित्तिकै कडा कदम चालेका छन् । उनले  सूचना पाएको भोलिपल्ट अर्थात २२ गते सवा ७ बजे जनपथमा उपस्थित भई केन्द्राध्यक्ष हरिप्रसाद पराजुलीलाई वास्तविकता के हो भनी मौखिक स्पष्टीकरण मात्र सोधेनन् अब आइन्दा यस्तो भएमा कारबाहीको भागीदार हुनुपर्ने बताए ।

 विराटनगरमै रहेका अरनिको, कोबास, लर्ड बुद्ध, मेरिल्याण्ड लगायतका केन्द्रमा भने केही सामान्य छिटफुट कमजोरीबाहेक परीक्षा सौहार्दपूर्ण वातावरणमा सञ्चालन भएको पाइयो ।

सरस्वती माध्यमिक विद्यालयमा भने परीक्षा सञ्चालनमा चरम लाहपर्बाही देखिएको छ । २२ गते उक्त विद्यालयको कोठा नम्बर १९  का निरीक्षक सञ्जय महतोले अमर्यादित कार्य गरेको भेटिएपछि परीक्षाबाट निस्काशित गरिएको थियो ।

चिट सार्दै गरेको अवस्थामा २०५००९१८ सिम्बोल नम्बर भएका परीक्षार्थी समेत निस्कासन गरिएको छ । यस्तो अनुचित क्रियाकलाप देखिसकेपछि उनले उक्त विद्यालयका प्रधानाध्यापक योगेन्द्रबहादुर कार्कीलाई चेतावनी दिएका थिए ।