इटहरीः इटहरीमा रहेको पाथीभरा एड्भरटाइजिङ प्रालिका प्रमुख पवन अधिकारीले इटहरी–२ मा रहेको महेन्द्र माविलाई पङ्खा हस्तान्तरण गरेका छन् ।

आइतबार अधिकारीसहित २०५९ सालको एसएलसी ब्याचका विद्यार्थीले २२ थान पङ्खा सो विद्यालयलाई प्रदान गरेका हुन् । विद्यालयका प्रधानाध्यापक चिरञ्जीवि भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम धमला (रामजी) लाई संयुक्त रूपमा पङ्खा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै अधिकारीले विद्यार्थीहरू गर्मीको समयमा पनि पङ्खाको अभावमा कष्टपूर्ण तरिकाले पढ्दै आएकाले आफूहरुले पङ्खा सहयोग गरेको बताए ।

‘अभाव र दबाबमा पढ्दा रिजल्ट राम्रो नआउने भएकाले हामीले पङ्खा सहयोग गर्दा विद्यार्थीमा उत्साहका साथ पढ्ने जोश आउँछ, अधिकारीले भने, ‘त्यसैले हामीले पङ्खा सहयोग गरेका हौं ।’ अहिले देशमा रहेका हरेक विशिष्ट व्यक्तिहरू सामुदायिक विद्यालयमा पढेर नै अब्बल बनेको बताउँदै उनले विद्यार्थीहरूलाई पढ्न प्रोत्साहन गरे ।

२०५९ को एसएलसी ब्याचका गणेश निरौलाले १० थान घडी समेत प्रदान गर्न लागिएको बताए । विद्यालयका समस्या न्यूनीकरण गर्न पनि सहयोग गर्ने उनले बताए । विद्यालयका प्रधानाध्यापक चिरञ्जीवि भट्टराईले यसअघि विद्यार्थीहरू गर्मीमा पढ्नुपरेको बताउँदै अब भने सहज हुने बताए । उनले भने, ‘यसअघि म स्वयम्ले धेरैतिर प्रपोजल हालेको थिएँ, अब भने विद्यार्थीलाई सहज हुने भयो, खुशी लाग्यो ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धमलाले पङ्खा सहयोग गर्नु देखावटी मात्रै नभई विद्यार्थीको मनोभावनालाई महसुस गरेर गरिएका कारण अनुकरणीय रहेको तर्क गरे । पाथिभरा एड्भरटाइजिङले यसअघि पनि उक्त विद्यालयमा शैक्षिक सामग्री सहयोग गरेको अधिकारीले बताए ।