धरानः धरान उपमहानगरपालिकाको १५ नम्बर वडा पूर्ण खोप सुनिश्चित वडा घोषणा भएको छ ।

शनिबार धरान उपमहानगरपालिकाकी कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारीले वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरेकी हुन् । कार्यक्रममा बोल्दै १५ नम्बर वडाका वडाध्यक्ष नरेशकुमार इवारमले अब धरान–१५ मा सबै बालबालिकाले पाउनुपर्ने सबैखाले खोप पाउने बताए । उनले १५ नम्बर वडा अब चाँडै बालमैत्री वडा पनि घोषणा हुने बताए ।

१५ नम्बर वडाका बालबालिका खोप छुट्ने र कुपोषण हुने अवस्थामा नहुने उनको भनाइ थियो । पूर्ण खोप घोषणा कार्यक्रममा उपमहानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत रत्नबहादुर कटुवाल, १३ नम्बर वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, धरान उपमहानगरपालिका स्वास्थ्य शाखाका संयोजक घनश्याम सिग्देल उपस्थित थिए ।

त्यस्तै, वडा सदस्य ज्ञानेन्द्र बस्नेत, शिक्षा सदन स्कुलका निमित्त प्रधानाध्यापक अशोक पोख्रेल, साविक नेकपा माओवादीका वडा संयोजक सुवास खवासलगायतको उपस्थिति थियो ।

कार्यक्रममा १२ जना स्वास्थ्य स्वयम्सेविकाहरूलाई खादा र प्रशंसापत्रले सम्मान गरिएको थियो । कार्यक्रम वडा सचिव हीरा खत्रीले सञ्चालन गरेका थिए ।