इनरुवाः माध्यमिक परीक्षा उत्तीर्ण (एसईई)को कपी परीक्षण गर्ने शिक्षक तथा परीक्षकहरूले कपी परीक्षणको रकम बढाउन माग गरेका छन् ।

परीक्षकहरूले १ दशकदेखि प्रतिकपि परीक्षण रकम २० रुपैयाँ मात्रै रहेकाले सो रकम बढाउनुपर्ने माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई सुनसरीमा ज्ञापनपत्र बुझाएका छन् ।

एसईई र कक्षा ११ तथा कक्षा १२ को कपी परीक्षण गर्न उस्तै समय लाग्ने उनीहरूको भनाइ छ । कक्षा ११ र १२ को जस्तो प्रति कपी परीक्षणको ४० रुपैयाँ दिनुपर्ने मागसहितको ज्ञापनपत्र शिक्षा इकाई प्रमुख रमेशबहादुर दाहाललाई कपी परीक्षकले बुझाएका छन् ।

इकाई प्रमुखलाई शिक्षक सङ्घ, सङ्गठन सहितको उपस्थितिमा ज्ञापनपत्र दिएको बताइएको छ । ज्ञापनपत्रमा परीक्षण कक्ष व्यवस्थित हुनुपर्ने, पङ्खाको व्यवस्था गर्नुपर्ने सहितको माग राखेर राष्ट्रिय परीक्षा बोर्डमा पठाउने विषय पनि उल्लेख भएको बताइएको छ ।