भद्रपुरः विश्व मजदुर दिवसको अवसर पारेर भद्रपुर जेसीजले भद्रपुर नगरपालिकामा कार्यरत मजदुरलाई सरसफाइ र जनस्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरेको छ ।
भद्रपुर–८ स्थित जेसीज भवनमा जेसीजका अध्यक्ष अनुज खतिवडाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सरसफाइ मजदुरलाई सरसफाइ र जनस्वास्थ्यका विषयमा जानकारी गराउनुका साथै जेसीजको तर्फबाट एक–एक थान टि–सर्ट प्रदान गरिएको थियो ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा मेची अञ्चलका स्वास्थ्यकर्मीले सरसफाइ र जनस्वास्थ्यसम्बन्धी विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, ८ नं वडाका अध्यक्ष गौरव सुब्बा, नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति तथा भद्रपुर जेसीजका पूर्व अध्यक्ष गणेश पोखरेललगायतले मजदुर दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।