विराटनगरः एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुल विराटनगरमा विद्यार्थीको नेता चयन गर्न मङ्गलबार निर्वाचन भएको छ ।

कक्षा १० सम्मका विद्यार्थीहरूका नेता चुन्न मतदान सम्पन्न भएको हो । विद्यालयका कक्षा ५ देखि १० सम्मका १ हजार २ सय ६८ जना विद्यार्थीले मतदान गरी हेड ब्याइ र हेड गर्ल चुनेका हुन् । जम्मा २ पदमा ९ जनाले उम्मेदवारी दिएका थिए ।

विद्यालयको यो प्रक्रियाले राजनीति र लोकतान्त्रिक अभ्यासका विषयमा आफूहरूलाई जानकारी दिएको उम्मेद्वार विद्यार्थीले प्रतिक्रिया दिएका छन् । उनीहरूले आफूहरूलाई थप जिम्मेवारीबोध समेत गराएको बताए ।

सो विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले हेड ब्वाइ र हेड गर्ल छनोट गर्नुको मुख्य उद्देश्य विद्यालयको प्रशासनिक युनिटसँग विद्यार्थीलाई सहभागिता गराउनु रहेको बताए । यस्तै विद्यार्थीबाट विद्यार्थीलाई नै अनुशासन र संस्कार सिकाउन समेत सघाउ पु¥याउने बताए । निर्वाचनका सम्पूर्ण प्रक्रिया आत्मसात गर्दा विद्यार्थीलाई लोकतान्त्रिक मूल्य–मान्यताको अभ्यास हुने भन्दै उनले यो पनि विद्यार्थीहरूको एउटा शिक्षा रहेको तर्क गरे ।

कक्षागत रूपमा लामबद्ध भएका विद्यार्थीले आ–आफ्ना उम्मेदवारलाई गोप्य मतदान गरेका छन् । निर्वाचित हुने उम्मेदवारले शपथ ग्रहणपछि आफ्नो कार्यकाल शुरु गर्नेछन् ।

उनीहरूको कार्यकाल एक वर्षको रहने विद्यालयका भाइस प्रिन्सिपल टीएन भण्डारीले बताए । उनका अनुसार निर्वाचित उम्मेद्वारले विद्यार्थीको सामान्य समस्या हल गर्ने, जटिल समस्याका विषयमा विद्यालय प्रशासनलाई जानकारी गराउने, कक्षाका क्याप्टेन र भाइस क्याप्टेनलाई परिचालन गर्ने, आवश्यकता अनुसार कार्यक्रमको आयोजना र सञ्चालन गर्ने लगायतका जिम्मेवारी पूरा गर्ने बताइएको छ ।

everest  school nirbachan  (1)