डा. विद्यानाथ कोइराला, शिक्षाविद्


 भाषा के हो ?
भाषा नाप हो । भाषा गुण हो, भाषा माध्यम हो, भावना आदानप्रदानको हतियार हो । अरु केही पनि होइन ।

 विद्यालयले शिक्षणको माध्यम अङ्ग्रेजी राख्दा शैक्षिक गुणस्तरमा सुधार हुने देख्नुहुन्छ ?
गुणस्तर बजारले मागेको कुराकानी हो । बजारले के खोज्छ, नम्बर खोज्छ । अङ्ग्रेजीले नम्बर आउँछ भनेको त होइन । अब दोस्रो कुरा, बजारले जागिर दिन्छ । जागिर अङ्ग्रेजी पढ्नेलाई मात्र छ र ? जापानिज पढ्नेलाई पनि छ, कोरियन पढ्नेलाई पनि छ । चाइनिज पढ्नेलाई पनि छ । त्यसैले बजारले खोज्ने जागिर हो । जागिर अङ्ग्रेजी हो भनेर बुझ्नुभएन । तर अङ्ग्रेजी सिक्नुपर्छ भन्नेमा विमति पनि रहेन । अङ्ग्रेजी जुनसुकै देशमा गए पनि चाहिने भो । यो व्यापक छ । यो ‘कथाले मागेको’ भनेजस्तै हो । अङ्ग्रेजी राख्नेबित्तिकै गुणस्तर सुध्रियो भन्ने होइन ।

त्यसो भए भाषाको शिक्षण कसरी हुनुपर्छ त ?

प्रश्न के हो भने भाषा सिकाउने कि सिक्ने ? कला सिकाउने भन्ने हो कि, विषय सिकाउने हो कि, माध्यम सिकाउने हो ? संवाद नै सिकाउने भन्ने हो भने भाषाको बारेमा होइन भाषा नै सिकाउनुप¥यो । जुन भाषामा सिक्ने हो त्यही भाषामा डुबाउनु पर्छ । भाषा सिक्ने कला सिकाउनुपर्छ । भाषाको ‘क्लु’ अर्थात् सङ्केत सिकाउनुपर्छ ।
अङ्ग्रेजी सिक्दा नेवारहरूले किन चाँडो सिक्दो रै’छ भनेदेखि संरचनाको तरिका मिल्दोरै’छ । जिब्रो फड्कार्ने तरिका मिल्दो रै’छ । त्यो कुरो सिकाइदियो भने भाषालाई माध्यमको रूपमा विकास गर्न सकिन्छ ।

 विद्यालयले गुणस्तरका नाममा अङ्ग्रेजी भाषालाई यति धेरै प्राथमिकता दिन जरुरी छ र ?

हो थिएन । यता गयो अङ्ग्रेजी बोल्नुपर्ने, उता गयो अङ्ग्रेजी नै बोल्नुपर्ने । अनि यो भाषालाई प्रतिस्थापन गरेर अर्को भाषा ल्याउने परिस्थिति घातक हुन सक्छ । जस्तो नेपालीले अरु भाषालाई प्रतिस्थापन ग¥यो भन्न पनि नछाड्ने अनि अङ्ग्रेजी ल्याएकोमा गर्व गर्ने किसिमको हाम्रो बुद्धि त उल्टोतिर गयो नि । गुणस्तर भाषाले होइन प्रणालीले, समय सुहाउँदो शिक्षण विधि, व्यवहारिक पाठ्यक्रम, नेतृत्वशैली जस्ता चिजले ल्याउने कुरा हुन् ।

 विराटनगरको पोखरिया विद्यालयको शैक्षिक उपलब्धिलाई कसरी नियालिरहनुभएको छ ?

उहाँहरूले मिहिनेत गर्नुभएको छ । गर्दा हुनेरै’छ भन्ने उदाहरण दिनुभएको छ । त्यस विद्यालयको राम्रो पक्ष अन्य विद्यालयले पनि सिको गर्नुपर्छ । म खुशी छु । म चाहिँ कसरी भन्छु भने केटाकेटीलाई भाषा सिकाउने कि भाषामा जोड दिने भन्ने चिन्तन चाहिँ शिक्षक साथीहरूले गरिदिनुभयो भने पोखरिया विद्यालयलाई न्याय हुन्छ ।
अर्को कुरा नेपालीबाटै अङ्ग्रेजी सिक्ने तरिका के हो ? मैथिलीबाट अङ्ग्रेजी सिक्ने तरिका के हो ? तामाङ भाषाबाट अङ्ग्रेजी सिक्ने तरिका के हो ? अङ्ग्रेजीबाटै अङ्ग्रेजी सिक्ने तरिका के हो ? त्यो किसिमको प्रक्रियामा हाम्रो शिक्षक जानुपर्छ ।

प्रस्तुतीः हेमराज दाहाल