फाइल तस्बिर

पाँचथरः पाँचथरको सदरमुकाम फिदिममा रहेको फिदिम मावि जिल्लाको पुरानो र धेरै विद्यार्थीको चाप रहेको सरकारी विद्यालय हो । ४ वर्ष पहिले उच्च मावि सञ्चालनका लागि पुराणको आयोजना गरेको सोही विद्यालयमा यसै शैक्षिक सत्रबाट सिभिल इञ्जिनियरिङ विषयको पढाइ हुने भएको छ ।

स्थानीयका छोराछोरीले अब कक्षा ९ बाट १२ कक्षासम्म निःशुल्क रूपमा इञ्जिनियरिङ पढ्न पाउने भएका छन् । इन्जिनियर बन्ने सपना आम नागरिकले आफना सन्ततीका लागि देखेका हुन्छन । त्यो सपना घरमै बसेर पूरा गर्ने योजना फिदिम माविले ल्याएको हो । ‘अथक मिहिनेतपछि हामी कक्षा ९ बाट सिभिल इञ्जिनियरिङको कक्षा शुरु गर्ने अवस्थामा पुगेका छाँै’, प्रधानाध्यापक विनोद ठाकुरले भने, ‘सरकारी स्वीकृति प्राप्त भएसँगै हामीमा काम गर्ने उत्साह थपिएको छ ।

पाँचथरमा स्वीकृतिका लागि प्रक्रिया थालिएका ४ विद्यालयमध्ये २ वटा विद्यालयले त्यस्तो प्रकारको स्वीकृति पाएका हुन् । फिदिम मावि फिदिमसँगै इन्द्रायणी मावि मौवा, घुर्बिसे पञ्चमी मावि र कृष्ण मावि चिलिन्दिनले प्रक्रिया थालेका थिए । नेपाल सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो अनुगमनपछि फिदिम मावि र इन्द्रायणी मावि मौवालाई स्वीकृत प्राप्त भएको हो । इन्द्रायणी मावि मौवामा पशु विज्ञान र फिदिम माविमा सिभिल इञ्जिनियरिङ विषयको पढाइ हुने भएको हो ।

प्रधानाध्यापक ठाकुरका अनुसार इञ्जिनियरिङ तर्फको कक्षा १२ सम्म पूरा गरेका विद्यार्थीले विद्यालयीय शिक्षा पूरा गरेपछि निम्न तहको प्राविधिक भइसकेका हुनेछन् ।

विद्यालयलाई स्वीकृति प्राप्त भएसँगै एक जना प्रशिक्षक, एक जना सहायक प्रशिक्षक, एक जना सब ओभरसियर (ल्याब ब्वाइ) सहित ल्याब व्यवस्थापनका लागि करीब २५ लाख रुपैयाँ पहिलो वर्ष सरकारी सहयोग प्राप्त हुने भएको छ । जनशक्ति सहितको आवश्यक तयारी थालिएको विद्यालय व्यवस्थापनले जनाएको छ ।

यसअघि जयनारायण आदर्श मावि आङसाराङमा कृषि विज्ञानतर्फको कक्षा सञ्चालन भइरहेको छ । जिल्लामा पछिल्लो पटक थपिएका दुई विद्यालय सहित ३ वटा विद्यालयमा प्राविधिक कक्षा सञ्चालन हुन लागेका हुन् ।