विराटनगर: विद्यार्थीको चाहनाअनुरूपको सिकाइलाई प्राथमिकता दिने उद्देश्यले विद्यालयमा गरिएका कार्यको समीक्षा गरिएको छ ।
विराटनगरमा आज आयोजित कार्यक्रममा मोरङ, सुनसरी र उदयपुरका गरी १० वटा विद्यालयले वृत्तिमार्ग निर्देशन शिक्षा कार्यक्रमअन्तर्गत गरेका कार्यहरुको समीक्षा गरिएको हो । वृत्तिमार्ग निर्देशन शिक्षा कार्यक्रमअन्तर्गत अन्तरङ्ग, हेल्भिटास र सीटीईभीटीको संयुक्त प्रयासमा मोरङका ६, सुनसरीका २ र उदयपुरका २ विद्यालय सहभागी छन् । वृत्तिमार्ग निर्देशन शिक्षा कार्यक्रममा विद्यार्थीको चाहना, उसको सिकाइको बाटो र रोज्ने कामको प्रकृति हेरेर जीवनमा के काम गर्न सक्छ भनेर दिशानिर्देश गरिन्छ ।
यस विधिमार्फत् व्यक्तिको क्षमता पहिचान गरिने भएकाले यो कार्यक्रम फलदायी हुँदै गएको र देशका ७ वटै प्रदेशमा सञ्चालन भइरहेको अन्तरङ्ग संस्थाकी ंसंयोजक सुष्मा रेग्मीले जानकारी दिइन । कार्यक्रममा बोल्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले व्यक्तिको क्षमता पहिचानसहितको शिक्षा कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे ।
विराटनगरमा ५ वटा विद्यालयमा यसखाले कार्यक्रम चलिरहेको र त्यहाँबाट हुने वृत्तिमार्ग निर्देशन शिक्षा कार्यक्रमको अझ बढी समीक्षा गर्न सकिने पराजुलीको भनाइ थियो । विद्यालयमा ल्याइएका कार्यक्रमलाई बेवास्ता गर्ने कार्य नगर्न समेत पराजुलीले प्रधानाध्यापक तथा शिक्षकलाई निर्देशन दिएका छन् । कार्यक्रममा विराटनगरका पोखरिया मावि, आदर्श मावि, मिल्स मावि, सरस्वती मावि र जनपथ माविका सम्बन्धित शिक्षकले वृत्तिमार्ग निर्देशन शिक्षा कार्यक्रममा विद्यार्थी माझ गरिएका कामको प्रस्तुति पेश गरेका थिए ।