भोजपुरः सोमबार राती भोजपुर बजारस्थित एक पसलमा लकर फोरेर सुन र नगद चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट करिब १ सय मिटर टाढा रहेको बुद्ध धातु उद्योगमा चोरी भएको हो । पसलको सेफ (लकर) प्वाल पारेर त्यहाँ रहेको साढे १२ तोला सुन, २२ हजार ६ सय नगद गरी साढे ७ लाख बढी चोरी भएको पसल सञ्चालकले बताएको भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

सेफ प्वाल पार्न चोरले वेल्डिङ मेसिनको प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ । लकरको तल्लो खण्डमा रहेको पैसा र अन्य सुन भने चोरले निकाल्न नसकेर छाडेर गएको बताइएको छ । बाथरुमको झ्यालबाट पसेर राती चोरी भएको पाइएको प्रहरीले जनाएको छ । बिहान ७ बजे पसल खोलेपछि मात्र आफूले थाहा पाएको पसलका सञ्चालक बद्री श्रेष्ठले बताए । सो पसल भोजपुर जिल्लाकै सबैभन्दा ठूलो हार्डवेयर पसल मानिन्छ ।

चोरी गर्नेको खोजी कार्य र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।